२७ कात्तिक, काठमाण्डौं । युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपमा कप्तान पूजा महतोले कीर्तिमानी शतकमा नेपालले कुवेतलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ ।
युएईको अजमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको विशाल योगफल तयार गर्यो ।
प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १ सय ३० रन बनाइन् । प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो ।
यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतवार कुवेतविरुद्ध नै युएईकी लाभन्या केन्याले बनाएकी थिइन् । उनले ९९ रन बनाएकी थिईन् । पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरिन् ।
पूजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो । गत फेब्रवरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिईन् । यू १९ महिला क्रिकेटमा भने यो नै पहिलो शतक हो ।
पूजाले नेपाली महिला क्रिकेटको एकै खेलमा बनेको सर्वाधिक रन समेत हो । रुबिनाले सोहि खेलमा ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।
सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन जोडिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।
२७ कार्तिक २०८१, मंगलवार १३:१३ प्रकाशित