२७ कात्तिक, काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो ।
मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । आफूले चलाउने मोबाइल काठमाडौँ उपत्यका बाहिर पठाएर काठमाडौँमा लुकेर बसेको सूचनाका आधारमा उनी पक्राउ परेका छन् । कार्तिक २० मा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी सम्पर्क विहीन भएका थिए ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङे विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
दीपक मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।
उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसला विरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले २०६९ मा ज्यान मार्ने उद्योग ९प्रयास० गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्यो ।
सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर, १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेश सभा सदस्य चुनिए भने पटक(पटक मन्त्री बने ।
२७ कार्तिक २०८१, मंगलवार १२:१४ प्रकाशित