स्थानियको विरोधका बिच शवदाहस्थलकालागि आर्थिक स्रोत खोज्दै नगरपालिका
  • काँचुली खबर

२६ कार्तिक, कोहलपुर । कोहलपुर शवदाहस्थल निर्माणकालागि स्थानिय सरकार आर्थिक स्रोतको व्यवस्थापनमा जुटेको छ । नगरको महत्वपूर्ण योजनाका रुपमा अगाडी सारीएको शवदाहस्थलकालागी निजि क्षेत्रको सहयोग जुटाउन सोमबार नगरपालीकामा अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको छ ।

कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख वीरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न तयार रहेको बताएका छन ।

केएल दुगडका प्रवन्ध निर्देशक वरिष्ठ उद्योगी प्रदीप छाछेडले सामाजिक तथा मानवीय सेवाका निमित्त गरिने काममा आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि तयार रहेको बताए । उनले सामाजिक कार्यमा केएल दुगडले सहयोग गर्दै आएको समेत स्मरण गराए ।

कोहलपुर मेडिकल कलेजका जनसम्पर्क अधिकृत रामकृष्ण हमालले पनि कोहलपुरमा शवदाहस्थल आवश्यक रहेकाले सहयोगको प्रतिबद्धता जनाए । उनले त्यसका निमित्त वोर्ड समितिमा कुरा राखेर मेडिकल कलेजबाट हुन सक्ने सहयोग गरिने विश्वास दिलाए ।

शवदाहस्थल व्यववस्थापन समितिका संयोजक समेत रहेका कार्यबाहक नगर प्रमुख शाहले सबैको सहयोग र समन्वयबाट शबदाहस्थल निर्माणको काम प्रारम्भ भएकाले आफ्नो सामाजिक उत्तरदायित्वबाट सहयोग गर्न आग्रह गरे । उनले कोहलपुर नगरपालिकाका नागरिकहरुका लागि सरल, सहज तथा कम खर्चिलोमा शवदहन गर्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा शवदाहस्थल निर्माणको काम सुरु गरिएको जानकारी दिए ।

वातावरण प्रभावलाई समेत मूल्यांकन गरेर कोहलपुरमा अत्याधुनिक शवदाहस्थल बनाउन लागिएकाले सबैको सहयोग आवश्यक रहेको शाहले बताए । उनले शवदाहस्थलबाट कुनैपनि वातावरणीय तथा स्वास्थ्यसँग सम्वन्धीत असर नपर्ने गरी विज्ञहरुको सुझावकै आधारमा कोहलपुर शवदाहस्थल निर्माण सुरु गरिएको उनको भनाइ छ ।

यस्तै शवदाहस्थल निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाहस्थल निर्माणका लागि अहिलेसम्म ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए । उनले एभरेष्ट बैंकले ५० लाख र ग्लोवल बैंकबाट २० लाख रुपैयाँ प्राप्त भएको र अन्य सामाजिक संघसंस्थाबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको बताए ।

करिव १ करोड १७ लाखको लागत स्टिमेटमा निर्माणको काम भइरहेको छ । अहिले भौतिक संरचना निर्माणको काम भइरहेको पनि अधिकारीले बताए ।

शवदाह गृह निर्माणकालागी नगरपालीका अघी बढिरहँदा यहाँका स्थानियहरु भने आन्दोलित हुँदै आएका छन । मानववस्ती नजिकै शवदाहगृह निर्माण गर्न लागिएको भन्दै स्थानियहरुले नगर विकास समिति र कोहलपुर नगरपालिकामा शवदाह स्थल परिवर्तन गर्न आग्रह गर्दै धानाकर्षण पत्र समेत बुझाईसकेका छन ।

आफुहरुको माग सम्बोधन नभए चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिदैं आएका स्थानियहरुले मानवस्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी शवदाहगृह निर्माण गर्न नहुने अडान राख्दै आएका छन ।

  • २६ कार्तिक २०८१, सोमबार १६:५० प्रकाशित
  • Nabintech