कोहलपुर भन्नेबित्तिकै मान्छेहरूको मानसपटलमा एउटा अनौठो तरङ्गको सञ्चार हुन्छ । कोहलपुरलाई कसैकसैले १४ अञ्चल ७७ जिल्लाको कर्मस्थल पनि भन्ने गर्दछन् । हुन पनि नेपालकै सुन्दर र व्यवस्थित सहरको रूपमा विसित हुँदै गरेको सहर हो, कोहलपुर । पूर्वमा मेचीदेखि पश्चिममा माहाकालीसम्म र उत्तरमा मनाङदेखि दक्षिणमा भारतको बहराईचसम्मका मानिसहरूले कोहलपुरलाई आफ्नो कर्मस्थल बनाएका छन् ।
एकताका ‘न्याय नपाए गोर्खा जानू र मान्छे हरायो भने खोज्न कोहलपुर जानू’ भन्थे बुढापाकाहरूले । हुन त कोहलपुर भनेर चिनिन नै कोहलपुरले झन्डै दुई दशक नेपालगन्जको साहारा लिनुपर्यो । काठमाडौँलगायत पूर्वतिरका मानिसहरूले कोहलपुर भनेको कहाँ पर्छ भन्दा हामीले नेपालगन्जको नजिकै हो भनेर परिचय दिनुपर्ने अवस्था पनि नभएको होइन । कोहलपुरको परिचय नेपालगन्जसँग गाँसिएर आउने गर्थ्यो । तर समयक्रममा कोहलपुरले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।
विकास निर्माणमा पनि कोहलपुर धेरै वर्ष पछाडि पर्यो । सबै सरकारी कार्यालयहरू नेपालगन्जमा नै थिए । २०४६ सालमा बहुदल आएपछि कोहलपुरमा नेपाल टेलिभिजन स्थापना भयो ।
राजा वीरेन्द्रले कोहलपुरको विकासका लागि कोहलपुर टाउन प्लानिङको अवधारणा ल्याए र जनताको जग्गा अधिग्रहण गरेर एउटा व्यवस्थित सहर बसाउने संकल्पका साथ कोहलपुर नगर विकास समिति गठन गरेर कोहलपुरमा टाउन प्लानिङ गरे । त्यसका लागि कोहलपुरका तत्कालीन अगुवाहरूको निकै ठूलो भूमिका रह्यो । सबै सरकारी कर्मचारीहरूलाई एक-एकवटा घडेरी अनिवार्य किन्नुपर्ने बाध्यता पनि बनाइयो । धेरैजसो सरकारी कर्मचारीहरूले किस्तामा घडेरी पनि खरिद गरे ।
तर बहुदल आएपछि कोहलपुरको विकासमा खडेरी लागेजस्तै भयो । बाटोघाटो बनाउन नै दशकौँ लाग्यो । २०६० सालसम्म कुनै घरहरू नै बन्न सकेनन् । घडेरी लिएकाहरूले पनि धमाधम घडेरीहरू बिक्री गर्न थाले । सहरी विकासले गति नलिएपछि यहाँ मानिसको आकर्षण घट्दै जान थाल्यो । मानिसहरूले धमाधम घरघडेरी बिक्री गर्दै अन्यत्र बसाइँ जान थाले ।
२०५२ सालबाट नेपालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय मागहरू राखेर सदनमा विरोध गर्न लाग्यो । उसका मागहरू सरकारले पूरा गर्नु त कता हो कता सामान्य छलफल गर्नसमेत अस्वीकार गरिदियो ।
त्यसपछि सो पार्टीले नेपालका रोल्पा र रुकुम जस्ता दुर्गम जिल्लालाई केन्द्रबिन्दु बनाएर जनयुद्ध नै सुरु गर्यो । माओवादी जनयुद्धलाई सुरुवातमा कसैले पनि त्यति महत्व दिएको थिएन । किनकि सानो समूहबाट सुरु गरिएको ‘जनयुद्ध’ले नेपालमा व्यवस्था परिवर्तनसम्ममा धक्का देला भन्ने अनुमान कसैले पनि गरेका थिएनन् ।
माओवादी जनयुद्ध भुसको आगो जस्तै मध्यपश्चिमका जिल्लाहरूमा व्यापक रूपमा फैलियो । यहाँका जनता सुरुवातमा धेरै खुसी थिए किनकि माओवादीले स्थानीय शोषक र सामन्तहरूको हुर्मत लिएका थिए । सामाजिक विकृति विसंगतिविरुद्ध उनीहरू समाजमा अभियान चलाएका थिए । तास खेल्ने जुवाडे र जँड्याहाहरूलाई पनि कठोर सजाय दिन थालेका थिए ।
तर पछिपछि माओवादी पार्टीभित्र प्रतिशोधको भावना विकसित हुन थाल्यो । मान्छेहरू एकअर्कालाई ठिक गर्न र आफ्ना शत्रुहरूलाई तह लगाउन पनि माओवादी बने । मध्यपश्चिमाञ्चलमा जनयुद्ध चलिरहेकै थियो ।
यता कोहलपुरमा भारतको डीवाई पाटिल भन्ने भारतीय धनाढ्य उद्योगपति मेडिकल कलेज खोल्न भनी आए । उनले कोहलपुरमा झन्डै २५ बिघा जग्गा ५० वर्षका लागि लिजमा पनि लिए । तर सरकारी जग्गा भएकाले बैंकहरूबाट ऋण मिलेन ।
त्यसपछि लाखौँको संरचना त्यत्तिकै छोडेर सो समूह भारत फर्कियो । त्यसपछि नेपाली माडेहरूले कोहलपुरमा मेडिकल कलेज खोले । कोहलपुरमा मेडिकल कलेज खोल्न माओवादीहरूको पनि ठूलो भूमिका छ । कोहलपुर नगरविकास समितिले सुपथ मूल्यमा जग्गा दिएर ठूलो काम गरेको थियो ।
यता कोहलपुरमा मेडिकल कलेज खोल्नु उता पहाडमा लडाइँ चर्किनु सँगसँगै जस्तो भयो । सयौँ घाइतेहरू हस्पिटलमा आउन थाले । त्यसपछि हस्पिटलको वरिपरि धमाधम घरहरू बन्न थाले । औषधी पसल र हस्पिटलले अथाह पैसा कमाए । त्यो देखेर कोहलपुरका व्यापारीहरूले पनि घडेरी किन्न थाले । उता माओवादीबाट विस्थापितहरू पनि धमाधम कोहलपुर आएर घर बनाएर बस्न थाले । हेर्दाहेर्दै कोहलपुर त ठूलो सहरजस्तो पो देखिन थाल्यो ।
कोहलपुर बजार र नेपालगन्ज मेडिकल कलेज ।
कोहलपुर नगर विकास समितिले पनि धमाधम महँगो मूल्यमा घडेरीहरू बिक्री गरेर बाटोघाटो बनाउन सुरु गर्यो । हेर्दाहेर्दै रातारात कोहलपुरमा गगनचुम्बी भवनहरू बन्न थाले । कोहलपुर त दोस्रो काठमाडौं जस्तो पो देखिन थाल्यो । जनसंख्याको वृद्धिसँगै कोहलपुरमा धमाधम शिक्षण संस्थाहरू खुल्न थाले । नेपालगन्जका व्यापारीहरू पनि कोहलपुरमा आएर घरघडेरी खरिद गरेर सुनचाँदीलगायतका व्यापार व्यवसाय गरेर प्रशस्त आम्दानी गर्न थाले ।
यसैक्रममा २०६२-६३ सालमा भएको दोस्रो जनआन्दोलनले नेपालमा संघीय गणतान्त्रिक व्यवस्था ल्यायो । मुलुकमा तीन तहका सरकारहरू बने । स्थानीय सरकारहरू पनि अधिकारसम्पन्न भए । स्थानीय तहको विकासमा उनीहरू आफैँले योजना बनाउने, स्रोत परिचालन गर्ने, कार्यान्वयन गर्ने अधिकार पाए । त्यसपछि सरकारी कार्यालयहरू धमाधम कोहलपुरमा सारिन थाले ।
स्थानीय तहको विकासमा स्थानीय सरकारहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । स्थानीय स्रोत साधनको परिचालन गरेर उनीहरूले स्थानीयबासीको आवश्यकताअनुरुप विकास निर्माणका काम गर्न सक्छन् । कोहलपुरमा पनि स्थानीय सरकारले कोहलपुर विकासका लागि निकै प्रयास गर्दै आइरहेको छ ।
अहिले कोहलपुर नेपालकै सुन्दर र व्यवस्थित सहर भएको छ । राजा वीरेन्द्रको स्मार्ट सिटी बनाउने सपना पूरा भएको छ । कोहलपुरदेखि नेपालगन्ज हुँदै भारतको रूपैडिहा बजारसम्म फोरलेन बाटो बनेको छ । कोहलपुरमा घडेरी बेचेर गएकाहरू पछुताउन थालेका छन् ।
कोहलपुर टाउन प्लानिङका अधिकांश बाटाहरू पिच भएका छन् । पहिलो पटक कोहलपुर आउने मान्छेहरूले कोहलपुरको प्रशंसा गरेर थाक्दैनन् । कसैकसैले त कोहलपुर युरोप जस्तै लाग्छ पनि भन्ने गरेको सुनिन्छ । सायद नेपालमा माओवादी जनयुद्ध नभएको भए कोहलपुरको विकास हुन अझै दशकौँ समय लाग्ने थियो कि !
हामी २०४० सालतिर कोहलपुर आएकाहरू पनि दंग परेका छौँ । गरे के हुँदैन र ? आज कोहपुरेहरू आफ्नै सहरमा रमाएका छन् । बरु नेपालगन्जका व्यापारीहरू धमाधम कोहलपुर आइरहेका छन् । अहिले कोहलपुर शिक्षा, स्वास्थ्य र सञ्चारको हब बनेको छ ।
नर्स, डाक्टरको अध्ययन पनि कोहलपुरमा नै हुने भएकाले कोहलपुर सबैको आँखाको नानी भएको छ । सामाजिक सद्भाव र भाइचाराको राम्रो उदाहरण बनेको छ कोहलपुर । अब कोहलपुर र नेपालगन्जलाई जोडेर एउटा महानगरपालिका बनाउन सके सुनमा सुगन्ध हुने थियो ।
२५ कार्तिक २०८१, आईतवार १७:४३ प्रकाशित