करोडौंको मेसिनमा खिया लाग्यो तर फोहोर प्रशोधन भएन
  • काँचुली खबर

२३ कात्तिक, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१३ र २३ को सिमानामा कुल १३ बिघा क्षेत्रफलमा एसियाली विकास बैङ्क (एडिबी)को अनुदान सहयोगमा ३८ करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको ल्यान्डफिल साइट प्रयोगविहीन बनेको छ ।

ल्यान्डफिल साइट सञ्चालनमा आएको दुई वर्ष पुगेको छ । तर, अहिलेसम्म फोहोर प्रशोधन गरिएको छैन, जसकारण फोहोर प्रशोधन गर्ने मेसिनमा खिया लागेको छ ।

कुहिने र नकुहिने वस्तु छुट्याउने र कुहिने वस्तुलाई पेलेर कम्पोस्ट मल बनाउन प्रयोग हुने मेसिन सञ्चालनमा आएका छैन । मेसिन नचलेकै कारण कामदारबाट फोहोर व्यवस्थापन र प्रशोधनका काम नभएको कर्मचारीहरूले बताए ।

कुहिने र नकुहिने फोहोर छुट्याएर फोहोर प्रशोधन गरिनुपर्नेमा काम हुन नसकेको नेपालगन्ज उपमहानगर वातावरण तथा सरसफाइ महाशाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले जानकारी दिए  । उनले भने, ‘कर्मचारी अभावका कारण मेसिनबाट फोहोर प्रशोधन गर्न सकिएको छैन । प्रशोधन गर्न नसकेकै कारण कुहिने र नकुहिने वस्तु एकै ठाउँमा भण्डारण गर्नु परेको छ ।’

इन्जिनियर प्रकाशले भने, ‘मेसिन बिग्रिन नदिन समय-समयमा चलाउने गरिएको छ । प्रशोधनको काम भने हुन सकेको छैन ।’ ल्यान्डफिल साइटमा एक वर्षसम्म ६० जना कर्मचारी कार्यरत रहेकोमा अहिले ३० जना मात्र कार्यरत छन् ।

ल्यान्डफिल साइटमा रहेका लोडर, फोहोर बोक्ने इलेक्ट्रिक अटो रिक्सासमेत बेवारिसे बनेका छन् । महँगा मेसिन र उपकरण सञ्चालन नहुँदा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्  । मेसिन र उपकरण यत्रतत्र छरिएका छन् । कतिपय मेसिन त काम नलाग्ने अवस्थामा पुगेको वडा नं. २३ का अध्यक्ष अब्दुल जब्बार शेषले बताए ।

ल्यान्डफिल साइटमा फोहोर थुपार्न चारवटा सेल बनाइएको छ । एउटा सेलमा करिब आठ वर्षसम्म नगरको फोहोर व्यवस्थापन गर्न सकिने अनुमान गरिएको थियो । तर, ती सेलमध्ये एउटा सेल चार वर्षमै भरिएको छ । कुहिने र नकुहिने वस्तु एउटै खाल्डोमा फाल्दा ल्यान्डफिल साइट दुर्गन्धित बनेको छ ।

‘एकपटक फोहोर फालेपछि माटो हालेर फोहोर पुर्ने र लोडर मेसिनले दबाउने सहमति स्थानीय र उपमहानगरबिच भएको हो,’ वडा अध्यक्ष शेषले भने, ‘सहमतिअनुसार काम नहुँदा दुर्गन्ध मात्र फैलिएको छैन, झिँगाको आतङ्क पनि त्यत्तिकै छ ।’

उनले कार्यपालिका बैठकमा पटक पटक कुरा उठाउँदा समेत सुनवाई नभएको गुनासो गरे ।

नेपालगन्ज उपमहानगरले ०७९ मंसिरमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्रसमेत सञ्चालनमा ल्याएको थियो । त्यही प्रयोजनका लागि जिआइजेडले दुईवटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन उपलब्ध गराएको थियो । त्यसअघि नेपालगन्ज उपमहानगरबाट निस्कने फोहोर व्यवस्थापन गर्न ०७६ सा यो ल्यान्डफिल्ड साइट निर्माण गरिएको थियो ।

  • २३ कार्तिक २०८१, शुक्रबार १७:४७ प्रकाशित
  • Nabintech