सडक डिभाईडरकाे रूख काट्ने ब्यक्ति २ महिनापछि पक्राउ
  • काँचुली खबर

२३ कात्तिक, काेहलपुर । कोहलपुर नगरपालिका-१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा काट्नेलाई प्रहरीले २ महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१० रामनगरका लक्ष्मीप्रसाद भुसाल रहेका छन् ।

भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । भुसालले गत भदौ २४ गते राति आराले ५ वटा स्वामीका बिरुवा काटेका थिए । बिरुवा काटिएको खबर पाएपछि राति नै इलाका प्रहरी कार्यालय कोहलपुर, नगर प्रहरी र जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर घटनाको अध्ययन गरेको थियो ।

घटनाको अध्ययन पश्चात भुसालले ती बिरुवा काटेको पत्ता लागेको थियो । भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेज समेत प्रहरीले फेला परेको थियो । यस्तो अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कोहलपुर नगर प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएको थियो । तर, भुसाललाई पक्राउ गर्न डिभिजन वन कार्यालय बाँकेले प्रहरीलाई ढिला गरी अनुमति दिएको हो ।

वनको अनुमति पाएसँगै भुसाललाई कार्तिक २० गते पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

बिचसडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा भुसालले सडक डिभाईडर बिचमा हुर्किसकेका ५ वटा बिरुवा आराले काटेका थिए ।

  • २३ कार्तिक २०८१, शुक्रबार १०:०२ प्रकाशित
  • Nabintech