वाणिज्य संघका पदाधिकारीद्वारा सपथ सहित पदधार ग्रहण
  • काँचुली खबर

१५ कात्तिक, काेहलपुर । कोहलपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूले पदभार तथा सपथ ग्रहण गरेका छन् । बुधबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेको उपस्थितिमा निर्वाचन समितिका अधिकृत लोकबहादुर शाहले उनीहरूलाई सपथ खुवाएका थिए ।

सो अवसरमा प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै मन्त्री न्यौपानेले देश बन्दैन मात्रै भन्ने तर काम नगर्ने हो भने अबको केही वर्षमा यो देशमा वृद्धहरू मात्रै रहने विचार व्यक्त गरे । उनले वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा पदभार हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री न्यौपानेले पछिल्लो समय युवाहरू विदेशिने क्रम बढ्दो रहेकाले त्यसलाई रोक्न तीनै तहको सरकार लाग्नुपर्ने बताए ।

संघीयता आएपछि स्थानीयले सुख पाउनुपर्नेमा अनेकौँ बहानामा दुःख पाइरहेको उल्लेख गर्दै मन्त्री न्यौपानेले अब यस्तो कुराको अन्त्य हुनुपर्ने बताए । पछिल्लो समय नेपालका व्यवसायीहरू एकैखालका समस्याबाट पीडित भएको उनको भनाइ थियो । ‘बाँकेमा मात्र नभई पछिल्लो समय सबै व्यवसायीहरूका समस्या उस्तै छन्,’ उनले भने, ‘उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरूका खास सस्मया प्रदेशसम्म ल्याउनुस् त्यसको समाधान गर्न हामी तयार छौँ ।’

संघका निवर्तमान अध्यक्ष लक्षमणराज पौडेलले आफ्नो कार्यकाल व्यवसायमैत्री रहेको र आफूले गरेका प्रतिबद्धता पूरा गरेको बताए । कोभिड हुँदै अहिलेको आर्थिक मन्दीमा पनि व्यवसयीहरूको हक हितका लागि सडक हुँदै तीनै तहका सरकारलाई झक्झकाउँदै आफू अगाडि बढेको उनले दाबी गरे ।

कार्यक्रममा निवर्तमान पदाधिकारीलाई बिदाइ गरिनुका साथै नवनिर्वाचितलाई पदभार ग्रहणका साथै कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको थियो । उक्त अवसरमा विभिन्न राजनीतिक दलका जनप्रतिनिधि, सुरक्षाकर्मी, व्यवसायीलगायतको उपस्थित रहेको थियो ।

  • १५ कार्तिक २०८१, बिहीबार १२:१७ प्रकाशित
  • Nabintech