संचार क्षेत्रबारे अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह

पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा कोहलपुरमा पत्रकारहरु एकमत

  • काँचुली खबर

१२ कात्तिक, कोहलपुर । पत्रकार आचारसंहिताको पालनामा विशेष ध्यान दिन  कोहलपुरका संचारकर्मीले अपिल गरेका छन । सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोहलपुरका संचारकर्मीहरुले सामाजिक सञ्जालमा प्रकाशित विषयलाई लिएर आमसञ्चार माध्यमलाई समेत जोड्दै भएका टिकाटिप्पणी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

पत्रकार आचारसंहिताको न्यूनतम पालना समेत नगरी रिर्पोटिङका नाममा डर त्रास फैलाउने खालका उच्छृंखल गतिविधि पत्रकार आचारसंहिताभित्र नपर्ने भन्दै यहाँका संचारकर्मीहरुले साझा धारणा सार्वजनिक गरेका हुन । “संचारकर्म आमनागरिकलाई भयभित बनाउने कर्म होईन, तसर्थ कसैको मान हानि हुने गरी असम्वन्धित पक्षलाई जोडेर बदनाम गर्ने कार्य गर्नु हुँदैन” विज्ञप्तीमा भनिएको छ ।

पत्रकार वा सञ्चार माध्यमले सुचना वा जानकारी संकलन, संप्रेषण सभ्य र सिष्ट तवरले गर्नुपर्ने सत्य तथ्य र सन्तुलित हुनुपर्ने महिला बालबालिकाको हकमा संवेदनशिल हुनुपर्ने पत्रकार आचारसंहितामा स्पष्ट उल्लेख विषय हुन भन्दै विज्ञप्तीमा अगाडी भनिएको छ, “पत्रकारको पेशागत मर्यादामा आँच नपुग्ने गरी पत्रकार आचारसंहिताको पूर्ण पालना गरी सञ्चार कर्म गर्न सवैमा अपिल गर्दछौं ।”

सामाजिक सञ्जालमा आएका विषयलाई लिएर पत्रकारिता क्षेत्र र पत्रकारहरुप्रति नकारात्मक टिकाटिप्पणी नगरिदिन समेत विज्ञप्ती मार्फत आग्रह गरीएको छ ।

“पछिल्ला केही दिनयता साहारा टिभि एचडी नामक फेसबुक पेजमा आएका सामाग्रीका विषयमा समग्र पत्रकारिता क्षेत्रलाई समेत जोडेर गरिएका टिकाटिप्पणीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ” विज्ञप्तीमा भनिएको छ ।

कोहलपुरको व्यवसायिक पत्रकारिताका सवालमा आफुहरु प्रतिवद्ध रहेको बताउँदै यहाँका संचारकर्मीहरुले पत्रकारीताको न्युनतम मापदण्ड अवलम्वन गरेर समाचार सम्प्रेषण गर्न समेत आग्रह गरेका छन ।

स्मरण रहोस, केही दिन पहिले कोहलपुरको एक सरकारी विद्यालयका शिक्षक र विद्यार्थिबिचको अश्लिल कुराकानी भन्दै एक फेसबुक पेजमा भिडियो सार्वजनिक भएको थियो । लगत्तै केही विद्यार्थी संगठनका नेता सहितका पत्रकारले कोहलपुर नगर शिक्षा शाखा प्रमुखमाथी अभद्र ब्यवहार गरेको भन्दै कोहलपुर नगरपालीकाका कर्मचारीहरुले पेन डाउन गरी बिरोध जनाएका थिए ।

संचारकर्मीकै कारण कर्मचारीहरु आन्दोलनमा उत्रिनुपरेको भाष्य सृजना गर्न खोजिएको भन्दै यहाँका पत्रकारहरुले संचारकर्मी र संचार क्षेत्र बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका हुन ।

  • १२ कार्तिक २०८१, सोमबार १३:५५ प्रकाशित
  • Nabintech