राष्ट्र बैंकले धनतेरसमा सुनको असर्फी बेच्ने
  • काँचुली खबर

९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन कात्तिक १३ गते सुनको असर्फी बिक्री गर्ने भएको छ । आगामी मंगलबार एक दिनको लागि मात्रै राष्ट्र बैंकको टक्सार महाशाखाले २.५ ग्राम तौलको उक्त सिक्का बिक्री गर्न लागेको हो ।

उक्त दिन बिहान ११ बजेदेखि अप।राह्न ४ बजेसम्म सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । सुनको सिक्काको मूल्य भने सोही दिनको सुनको बजार मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने कात्तिक ११ देखि १४ गतेसम्म सोही समयमा बिक्री हुनेछ । यसको मूल्य राष्ट्र बैंकले निर्धारण गरिसकेको छ । यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ ।

सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्नको लागि क्युआर कोडमार्फत् भुक्तानी अनिवार्य रहेको समेत राष्ट्र बैंकले जनाएको छ ।

तिहार सुरु हुनभन्दा अघिल्लो दिनलाई धनतेरस भनिन्छ । त्यो दिन धातुका सामानहरु किन्नु राम्रो हुने मान्यता राखिन्छ । राष्ट्र बैंकले विगतदेखि नै यो दिन सुनको असर्फी बिक्री गर्दै आएको छ । चाँदीको सिक्का र मेडालियन भने अरु समयमा पनि बिक्री गरिन्छ ।

  • ९ कार्तिक २०८१, शुक्रबार १४:४९ प्रकाशित
  • Nabintech