राप्तीसोनारीबाट झण्डै चार लाख नगदसहित २० जुवाडे पक्राउ
  • काँचुली खबर

७ कात्तिक, नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् ।

राप्ती सोनारी गाउँपालिका-६ स्थित सञ्जय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्की नेतृत्वको टिमले छापा मार्दा जुवा खालबाट नगद ३ लाख ९१ हजार रुपियाँ सहित २० जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तिहार नजिकिएसँगै बाँकेमा जुवातास खेल्नेहरू सक्रिय हुन थालेपछि प्रहरी पनि सक्रिय भएर सो रोक्न लागिपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले बताए । उनले जिल्लामा जुवा हुने सम्भावित स्थान र खेलाउने व्यक्तिहरू बारे प्रहरीले धेरै सूचना सङ्कलन गरिसकेको जनाउँदै यस पटक जुवातास निमन्त्रण अभियानलाई कडा पारिएको बताए ।

यसअघि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले जयसपुरबाट १५ जना जुवाडे पक्राउ गरेको थियो । हरेक वर्ष तिहारको समयमा जिल्लामा जुवातासका घटना बढ्ने भएकाले प्रहरीले निगरानी बढाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले ठाउँ-ठाउँमा सुराकी प्रहरी परिचालन गरेर निगरानी गरिरहेको जानकारी दिए ।

उनका अनुसार जुवातासका कारण धेरै परिवार समस्यामा पर्ने गरेकोले कानुनले वर्जित गरेका यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी चनाखो रहेको छ ।

दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा मानिसहरूको ठाउँ-ठाउँमा जमघट हुने र यही मौकामा जुवातास समेत खेल्ने गरेको पाइएपछि प्रहरीले सम्भावित क्षेत्रको पहिचान नै गरेर निगरानी बढाएको छ । दसैँ र तिहारलाई लक्षित गरेर तयार गरिएको सुरक्षा योजना अनुसार प्रहरीले सबै सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्था गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • ७ कार्तिक २०८१, बुधबार १५:५४ प्रकाशित
  • Nabintech