रविलाई पक्राउ गर्नु अनुचित होइन : राजेन्द्र लिङ्देन
  • काँचुली खबर

६ कात्तिक, नेपालगञ्ज । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछाने पक्राउलाई अनुचित नभएको प्रतिक्रिया दिएका छन । कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुन थालेको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अभियोग लागेपछि सफाई दिनुपर्ने बताएका लिङ्देनले यस्ता अभियोग लागेका कांग्रेस र एमालेका नेतालाई पनि पक्राउ गर्नुपर्ने बताए ।

उनले सरकारले ल्याउन थालेको भनिएको अध्यादेश अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउदा सबै दलहरुसँग छलफल गर्नुपर्नेमा त्यसो नगरी सरकारले बहुदलीय प्रजातन्त्र नै समाप्त पार्ने दुश्प्रयास गरेर अध्यादेश ल्याउन थालेको बताए ।

उनले भने, ’मैले प्रधानमन्त्रीलाई भेटेर नै अध्यादेश उपयुक्त नहुने सल्लाह दिएको छु । सरकारले जबरजस्ती ल्याएमा त्यो आफ्नो खाल्डो आफै खनेको ठहरिनेछ ।’

अध्यक्ष लिङ्देनले एमालेले पार्टी कार्यालय बनाउन व्यवसायीसँग अरबको सम्पति लिनुलाई नैतिक भ्रष्टाचारको संज्ञा दिए । उनले थपे,’व्यवसायीले प्रधानमन्त्रीको पार्टीलाई अरबौंको जग्गा उपहार दिनु नैतिक रुपमा भ्रष्टाचार हो । यो गलत हो । ती व्यवसायीले खुशीले त्यो उपहार दिएका होइनन् ।’

लिङ्देनले प्रधानमन्त्रीलाई व्यक्तिगत रुपमा भेटेर व्यवसायीसँग जग्गा लिनुलाई आम जनताले राम्रो रुपमा नहेरेको सम्झाएको बताए ।

अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाले अवस्था परिवर्तन नहुने भएकाले अवस्था सुधार्न व्यवस्था परिवर्तन गर्न आवश्यक रहेकाले राप्रपाले आन्दोलनको तयारी गरेको बताए । उनले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था आवश्यक रहेको बताए । उनले प्रदेश संरचना खारेजी, जनप्रतिनिधिको संख्या कटौती हुन आवश्यक रहेको बताए । राप्रपाका नेताका छोराछोरीलाई राप्रपा नै बनाउने अभियान पनि थालेको अध्यक्ष लिङ्देनको भनाई थियो ।

राप्रपाका केन्द्रीय अध्यक्षलगायतको टीम आउदा बाँकेका ठूला नेता तथा कार्यकर्ता स्वागत गर्न पुगेका थिएनन् । महामन्त्री डा. धवलशमशेर राणाको गृह जिल्ला बाँके भएको र राणालाई हालसालै संगठन विभागबाट हटाइएकोमा यहाँका नेता तथा कार्यकर्ता आक्रोशित रहेका छन् । यसप्रश्नमा अध्यक्ष लिङ्देनले एक व्यक्ति, एक पदको अवधारणा अनुसार र स्वास्थ्य अवस्थाले पनि साथ नदिएकाले राणाको जिम्मेवारीमा हेरफेर गरेको प्रतिक्रिया दिएका छन् ।

कर्णाली यात्रामा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेता आएका छन् ।

  • ६ कार्तिक २०८१, मंगलवार १५:१० प्रकाशित
  • Nabintech