नसालु पदार्थ खुवाएर लुटपाट गर्ने दुई जना पक्राउ
  • काँचुली खबर

३ कात्तिक, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले फ्रुटी र मोहीमा नसालु पदार्थ (घातक विषादी) मिसाएर खुवाइ लुटापाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले फ्रुटी र मोहीमा नसालु पदार्थ (घातक विषादी) मिसाएर खुवाइ लुटपाट गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १३ अमलाचौर कास्कीका सञ्जु कोइराला र देवघाट गाउँपालिका वडा नम्बर ५ क्षेत्रीटोल तनहुका कालु परियारलाई पक्राउ गरिएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी निरीक्षक नविनप्रकाश चापागाईले जानकारी दिए ।

चापागाईका अनुसार कोइरालालाई कात्तिक १ गते र परियारलाई असोज ३० गते उनीहरुकै निवासबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याइएको छ ।

प्रहरीका अनुसार उनीहरु गत असोज १२ गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क स्थित न्यू रारा कर्णाली होटलमा आइ बास बसेका थिए । होटल सञ्चालककी आमा पार्वती उपाध्यायलाई आमा नाता लगाएर उनको भरोसा जितेर असोज १५ गते राति अन्दाजी ११ बजेको समयमा होटल सञ्चालककी आमा पार्वती र छोरीहरु विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी र मोहीमा घातक विषादी मिसाइ खुवाएर बेहोस बनाएको बाँके प्रहरीले जनाएको छ ।

उनीहरु बेहोस भएपश्चात् उनिहरूकाे शरीरमा रहेका एक तोला सुनको रिङ, आधा तोला तिलहरी, दुवै छोरीको कानमा रहेका चार वटा गरी एक तोला सुनका रिङ, नाकमा लगाएको नौ आनाको नथनिया गरी जम्मा २.५० तोला नौ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको ३० हजार रुपियाँ बराबरका नगद तथा जिन्सी सामान चोरी गरी भागेर फरार रहेको चापागाईले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको र कात्तिक २ गते बाँके जिल्ला अदालतमार्फत् ज्यान मार्ने उद्योग र चोरी कसूरमा कालु परियारलाई सात दिन र सञ्जु कोइरालालाई छ दिन म्याद थप गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

  • ३ कार्तिक २०८१, शनिबार १६:०७ प्रकाशित
  • Nabintech