१५ हजार भारुमा श्रीमती बेच्ने श्रीमान २४ वर्षपछि पक्राउ
  • काँचुली खबर

१ कात्तिक, सुर्खेत । श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई २४ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-७, का ६१ वर्षीय भक्तबहादुर विष्ट छन् ।

मानव बेचबिखन मुद्दाका फरार अभियुक्तको सूचीमा रहेका भक्तबहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटुको टोलीले बुधवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

घरमै लुकिछिपी बसेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

भक्तबहादुरविरूद्ध जाहेरी आएको घटना भने २४ वर्षअघिको हो । २०५७ साल मंसिर १३ गते उनले श्रीमती नामसरादेवी कँडेललाई भारतमा बेचेको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको थियो ।

के थियो घटना ?

१ असोज २०५७ मा ३५ वर्षीय भक्तबहादुरले सोही ठाउँकी २१ वर्षीया नामसरादेवी कँडेललाई विवाह गरेर भारतको गोरखपुर पुर्‍याए । त्यसको दुई महिना पछि भक्तबहादुरले भारतीय नागरिकलाई १५ हजार रुपैयाँ भारुमा बेच्ने योजना बनाए ।

७ मंसिर २०५७ मा नामसरादेवीलाई आफूले किनेको भन्दै एक जना व्यक्ति लिन आए । उनी जान नमानेपछि भक्तबहादुरले मार्ने धम्की दिए । ‘शौचालय जाने बहानामा भागेर नामसरा भारतीय प्रहरीसमक्ष पुग्न सफल भइछन्’, नामसरादेवीले सुर्खेत प्रहरीलाई दिएको जाहेरी उदृढ गर्दै डिएसपी विश्वकर्माले भने, ‘पछि बेच्ने र किन्ने व्यक्ति फरार भएछन् । भारतीय प्रहरीले नामसरालाई नेपालसम्म उद्धार गरेर पठाएछ ।’

डिएसपी विश्वकर्माका अनुसार नेपाल आएपछि नामसरादेवीले आफूलाई विवाह गरेर भारत पुर्‍याएको र एक भारतीय नागरिकसँग बेचेको भन्दै भक्तबहादुरका विरुद्ध ०५७ को मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिइन् ।

मंसिर १६ गते पीडितले जिल्ला अदालत सुर्खेतमा समेत घटनाको विस्तृत बयान दिइन् । ०७६ सालमा नै अदालतले भक्तबहादुरलाई पक्राउको अनुमति दिएको थियो । तर फरार रहेका भक्तबहादुर भारतमै लामो समय लुकिछिपी बसे ।

मानव बेचबिखनविरुद्धको मुद्दाको हदम्याद असीमित हुने भएकाले सुर्खेत प्रहरीले बीचबीचमा उनको खोजतलास गर्दै आएको डिएसपी विश्वकर्मा बताउँछन् ।

‘फरार प्रतिवादीहरुको बीचबीचमा खोजतलास भइरहन्छ,’ डिएसपी विश्वकर्माले भने, ‘पछिल्लो समय भक्तबहादुर घरमै लुकीछिपी बसेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको हो ।’ निवेदक नामसरादेवीको भने ९ वर्षअघि मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

  • १ कार्तिक २०८१, बिहीबार १२:२६ प्रकाशित
  • Nabintech