व्यवसायसँगै सामाजिक कार्यमा सक्रिय गोपाल अधिकारी
  • काँचुली खबर

३० असोज, कोहलपुर । कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उप महासचिव पदका उम्मेदवार हुन गोपाल प्रसाद अधिकारी । बिगत एक दशकभन्दा लामो समयदेखी व्यवसाय संचालन गर्दैै आईरहेका अधिकारी पहिलो पटक वाणिज्य संघको निर्वाचनमा होमिएका हुन ।

दैलेखबाट २०५७ सालमा कोहलपुर झरेका अधिकारी लामो समयदेखि कोहलपुरमा व्यवसायिक सुरक्षा र युवालाई स्वदेशमै उद्यमी बनाउन लागीपरेका छन । अधिकारीले कोहलपुरमा व्यापार गर्दा भोगेका समस्या र तिनका समाधानका उपायहरूबारे प्रस्ट धारणा राख्दै आएका छन् ।

१२ वर्षदेखि कोहलपुर-३, मदनचोकमा कपडा पसल सञ्चालन गर्दै आएका उनले सुरुमा आठ-दस हजारको लगानीमा आफ्नो व्यापार सुरु गरेका थिए । “सामान्य लगानीबाट सुरु गरेको मेरो व्यवसाय अहिले एक करोड बढीको भएको छ,” अधिकारीले भने । उनले दैनिक ४०-५० हजार रुपैयाँको कारोबार हुने गरेको बताउँदै, यसबाट भएको कमाईको २५ प्रतिशत सामाजिक सेवामा खर्च गर्दै आएको बताए ।

खुल्ला भन्सार र व्यवसायिक असुरक्षा

कोहलपुर जस्तो व्यापारिक केन्द्रमा व्यवसाय गर्न सजिलो नरहेको अधिकारीको भनाई छ । खुल्ला भन्सारका कारण भारतीय बजारबाट सस्तोमा सामान आउने र यहाँका व्यवसायीहरूलाई प्रतिस्पर्धा गर्न गाह्रो हुने अवस्था रहेको अधिकारीको तर्क छ । उनी भन्छन्, “खुल्ला भन्सार व्यवस्थापन नगरेसम्म यहाँका साना व्यवसायीले टाउको उठाउन मुस्किल छ ।” उनले वाणिज्य संघको नेतृत्व पुगे यस्ता तमाम समस्यालाई समाधानकालागी पहल गर्ने प्रतिबद्धता जनाए ।

कोहलपुरमा धेरै व्यवसायीहरू घर भाडामा लिएर व्यापार गरिरहेका उल्लेख गर्दै अधिकारीले भने, “व्यवसाय चल्न थालेपछि घरबेटीले आफूले गर्ने वा आफ्नालाई दिन दबाब दिने प्रवृत्ति बढ्दो छ, यसको समाधान खोजिनुपर्छ ।”

भाडामा बस्नेलाई मनपरी रूपमा हटाउने र भाडा बढाउने प्रचलनलाई नियमन गर्न नीति बनाउनुपर्ने उनको धारणा छ । विशेषगरी, घर बहाल करको भार व्यवसायीहरूलाई बढी पर्ने भएकाले, यसको दायरा घटाउन नीति बनाउन संघीय र स्थानीय सरकारसँग पहल गर्ने अधिकारीको योजना छ ।

युवा व्यवसायिलाई प्रोत्साहन गर्नुपर्ने

गोपाल अधिकारीका अनुसार, युवाहरूले विदेशमा गएर श्रम गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । “यहाँका युवाहरूलाई स्वदेशमै अवसर दिन नीति बनाउन जरुरी छ,” उनले भने । आफ्नो प्यानलले चुनाव जितेपछि युवा उद्यमशीलताको विकासका लागि नीति निर्माण गर्न वाणिज्य संघको नेतृत्वमा संघीय र प्रदेश सरकारसँग दबाब दिने अधिकारी बताउँछन ।

“युवा उद्यमीलाई नेपालमै स्थापित गर्न आर्थिक सहयोग र तालिमको आवश्यकता छ । हामी यसका लागि सहुलियतपूर्ण कर्जा योजनाको विकासमा पहल गर्नेछौँ,” अधिकारीले भने । व्यवसायिक तालिम र परामर्शका लागि स्थानीय स्तरमा स्रोत केन्द्र स्थापना गर्न पनि उनी प्रतिबद्ध छन् ।

सामाजिक योगदान

कोभिड-१९ को महामारीको समयमा कोहलपुरका साना व्यवसायीहरूलाई अधिकारीले व्यक्तिगत रुपमा खाद्यान्न र आर्थिक सहयोग पुर्‍याएका थिए । रझेना खानेपानीका उपाध्यक्ष समेत रहेका अधिकारीले पानीको आपूर्तिमा सुधार ल्याउन उल्लेख्य भूमिका खेलेका छन् । सामाजिक कार्यमा सक्रिय रहेका अधिकारीले कोहलपुरका समस्या समाधानमा आफ्नो सक्रियता अझै बढाउने प्रतिवद्धता जनाएका छन ।

प्रगतिशिल समूहको नीति र प्रतिबद्धता

अधिकारी प्रगतिशिल समूहको तर्फबाट कोहलपुर उद्योग वाणिज्य संघको चुनावमा उप महासचिव पदमा प्रतिस्पर्धा गर्दैछन् । यो समूहले चुनाव जितेपछि खुल्ला भन्सारको समस्या समाधान गर्ने, व्यवसायिक असुरक्षाको अन्त्य गर्ने र युवा उद्यमशीलताको विकासमा नीति निर्माणमा दबाब दिने अठोट लिएको छ । घर भाडामा व्यवसाय गर्ने साना व्यापारीहरूको सुरक्षाका लागि पनि उनीहरूको समूहले विशेष ध्यान दिने भएको छ। “व्यवसायी सुरक्षित नभए व्यापार फस्टाउन सक्दैन,” अधिकारीले भने ।

आगामी चुनावमा यो समूहले चुनाव जितेपछि स्थानीय सरकारसँग सहकार्य गर्दै घर भाडा सम्बन्धी नीति निर्माणमा पनि पहल गर्ने बाचा गरेको छ। विशेषगरी, घर बहाल करको भार घटाउन कानुनी सुधारकालागि वाणिज्य संघले पहल गर्नेछ।

अधिकारी र उनको समूहको मुख्य उद्देश्य युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्नु, कोहलपुरका व्यापारिक समस्या समाधान गर्नु, र यहाँका व्यवसायीहरूको हकहितको रक्षा गर्नु हो । “कोहलपुरमा व्यवसायिक स्थायित्व र युवाहरूको भविष्य सुनिश्चित गर्नका लागि म अडिग छु,” गोपाल अधिकारीको भनाइ छ।

  • ३० आश्विन २०८१, बुधबार १७:५९ प्रकाशित
  • Nabintech