दाङमा आफ्नै दाईले छुरा प्रहार गर्दा भाईको मृत्यु
  • काँचुली खबर

३० असोज, दाङ । दाङमा सहोदर दाइले पेटमा छुरा प्रहार गरी भाइको हत्या गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी ३१ वर्षीय दाजु पूर्ण तामाङको छुरा प्रहारबाट सहोदर भाइ २८ वर्षीय अनिल तामाङको मृत्यु भएको बताएका छन ।

पूर्णले आफू जोगिन भाइ अनिलले आफैले पेटमा छुरा प्रहार गरेको बुवा सोमार र छिमेकीलाई बताएका थिए । त्यही कुरा स्थानीय र बुवा सोमारले प्रहरीलाई पनि बताएका थिए । डिएसपी ठकुरीका अनुसार पूर्णले घटनापछि प्रहरीलाई समेत झुक्याउन प्रयास गरेका थिए ।

डिएसपी ठकुरीले आफैले मृतक अनिलको घाउ खत नियालेपछि शंकास्पद देखेपछि बुवा सोमार र अनिलका दाजु पूर्णलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान गरेका थिए ।

घटना अनुसन्धानका क्रममा पूर्णले भाइ अनिलमाथि आफैले छुरा प्रहार गरेको र जोगिनका लागि झुट बोलेको साबिती बयान दिएको डिएसपी ठकुरीले बताए ।

घटना मंगलबार बिहान साढे नौ बजेतिरको हो । पश्चिम दाङको बबई गाउँपालिका-४ हापुरे बजारमा आफ्नै होटलभित्र पूर्णले भाइ अनिलमाथि आवेशमा आई तीन पटक छुरा प्रहार गरेका थिए ।

पूर्ण बुवाआमासँगै हापुरे बजारमा डोल्मा होटल सञ्चालन गर्दै आएका थिए । अनिल भने भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँबाट असोज २३ गते मात्रै दसैंका लागि भनेर हापुरे बजार आएका थिए ।

आफ्नै पेटमा चक्कु प्रहार गर्दा युवकको मृत्यु

तामाङ परिवारको घर भक्तपुरको नयाँ गाउँ र दाङको हापुरे दुबै ठाउँमा छ । अनिल विवाहित थिए । उनी श्रीमती र एक सन्तानका साथ भक्तपुरमा बस्दै आएका थिए । भक्तपुरमा उनीहरूको घरसहित तीन रोपनी जग्गा जमिन छ । त्यो बुवाको नाममा छ भने दाङको हापुरेमा घरसहित साढे दुई कठ्ठा जग्गा छ । हापुरे बजारको जग्गा भने आमाको नाममा छ ।

असोज २३ गते हापुरेस्थित घरमा आएपछि अनिलले सम्पत्तिको विषयमा बुवासँग धेरै पटक विवाद गरेका थिए । बुवा सोमार भने फुर्सद मिलेपछि अंशबण्डा गरौंला भन्दै थामथुम पार्न प्रयास गर्थे ।

घटना भएको दिन असोज २९ गते बिहानै अनिलले मदिरा सेवन गरिसकेका थिए । अनिलले फेरि त्यही हर्कत दोहोर्‍याउन थाले । दाजु पूर्ण सम्झाउन खोज्छन् । त्यतिखेर पनि अनिलले दाजु पूर्णलाई छुरा उज्याउँछन् । ज्यान मार्ने धम्की दिन्छन् । अनिल थप उग्र बन्दै जान्छन् । त्यति नै बेला आवेशमा आए पूर्णले भाइमाथि अनिलकै हातको छुरा खोसेर तीन पटक पेटमा छुरा प्रहार गरेको पूर्णले बयानमा भनेका छन् ।

हालसम्मको अनुसन्धानबाट घटनामा बुवा सोमारको कुनै संलग्नता नदेखिएको डिएसपी ठकुरीले बताए ।

इप्रका तुलसीपुरको हिरासतमा रहेका बुवा सोमारलाई प्रहरीले आवश्यक परेको समयमा उपस्थित हुने शर्तमा बुधबार नै रिहा गर्ने तयारी गरेको छ । भाइलाई छुरा प्रहार गरी हत्या गर्ने दाजुका विरूद्ध भने कर्तव्य ज्यान शिर्षकमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

अनिलकी श्रीमती सुन्दरी तामाङ भक्तपुरबाट बुधबार मात्रै तुलसीपुर आइपुगेकी छन् । उनैले श्रीमानको हत्या गर्ने जेठाजूविरूद्ध किटानी जाहेरी दिने तयारी गरिरहेको इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

अनिलको शव श्रीमती सुन्दरीले नै बुझ्ने कुरा भइरहेको भए पनि सदगतका लागि भक्तपुर लैजान्छन् वा के गर्छन् भन्ने खुलिनसकेको प्रहरीले बताएको छ ।

शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

  • ३० आश्विन २०८१, बुधबार १६:५५ प्रकाशित
  • Nabintech