नयाँ दिल्ली । राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) नेता र महाराष्ट्र राजनीतिमा चर्चित बाबा सिद्दिकी (६६) को शनिबार राति गोली हानी हत्या गरिएको थियो ।
लामो समयसम्म कंग्रेससँग आबद्ध रहेका बाबा सिद्दिकी सन् २००४ देखि २००८ सम्म महाराष्ट्रमा कंग्रेस-एनसीपी सरकारमा राज्यमन्त्री थिए । बाबा सिद्दिकीलाई शाहरुख र सलमान खानबिचको दुरी मेटाएको कारणले पनि चिनिन्छ ।
मुम्बई प्रहरीले सिद्दिकीको हत्यामा तीन शूटर संलग्न रहेको पुष्टि गरेको छ । उनीहरू लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित रहेको बताइएको छ ।
आइतबार पत्रकारहरूले मुम्बई प्रहरी अपराध शाखाका डीसीपी दत्ता नलावडेलाई बाबा सिद्दिकीको हत्यामा लरेन्स बिश्नोई गिरोहको संलग्नताबारे सोध्दा उनले सबै कोणबाट अनुसन्धान गरिने बताए।
को हुन् लरेन्स बिश्नोई ?
‘जब म पहिलो पटक जेल गएँ, म विद्यार्थी थिएँ। पछि जेलभित्रै ‘गुन्डा’ भएँ। मेरो दाजुभाइको हत्या भयो, हामीले त्यसको जवाफ मात्रै दिएका थियौँ । मान्छे कस्तो बन्छ, त्यो उसको वातावरणमा भर पर्छ ।’ ग्याङ्स्टर लरेन्स बिश्नोईले जेलबाट एक निजी टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा यस्तो बताएका थिए ।
लरेन्सविरुद्ध करिब ५० वटा आपराधिक मुद्दा दर्ता छन्। प्रहरीका अनुसार अधिकांश घटना लरेन्सले जेलभित्रैबाट गराएका हुन् । उनीमाथि प्रख्यात पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्याको षड्यन्त्र गरेको आरोप पनि लागेको छ ।
टेलिभिजन च्यानलले यो अन्तर्वार्ता जेलभित्रैबाट लरेन्स बिश्नोईले दिएको दाबी गरेको थियो । तर पञ्जाब प्रहरीले यो असत्य भएको दाबी गरेको छ । यसै क्रममा राजस्थान प्रहरीले पनि लरेन्सको यो अन्तर्वार्ता राज्यको कुनै जेलबाट नलिइएको बताएको थियो ।
३३ वर्षीय लरेन्स बिश्नोईमाथि हत्या, चोरी डकैती र एक व्यक्तिमाथि जानाजानी आक्रमणको आरोपहरू छन्। यी मामिलाहरू पञ्जाब, दिल्ली र राजस्थानमा दर्ता भएका छन्।
लोरेशका वकिल विशाल चोपडाले बीबीसी पूर्व पत्रकार सुचित्रा मोहन्तीलाई भनेका थिए, ‘मेरा क्लाइन्ट निर्दोष छन्, उनले कुनै अपराध गरेका छैनन् ।’
बिश्नोई समुहद्धारा हत्या गरीएका सिद्दिकी ।
विद्यार्थी जीवनमा नै राजनीतिमा प्रवेश
लरेन्स बिश्नोईको बारेमा मिडिया रिपोर्टमा उपलब्ध जानकारी अनुसार कतिपय ठाउँमा उनको जन्म मिति २२ फेब्रुअरी १९९२ रहेको उल्लेख छ । यद्यपि केही ठाउँमा १२ फेब्रुअरी, १९९३ भनेर पनि भनिएको छ । यसको मतलब यो समय लरेन्सको उमेर ३१-३२ वर्ष हो ।
पञ्जाबको फाजिल्काको धत्तरानवाली गाउँमा जन्मिएका बिश्नोई परिवारका लरेन्सको नाम पनि चासोको विषय बनेको छ । प्रहरी रेकर्ड अनुसार लरेन्स बिश्नोईको वास्तविक नाम सतविंदर सिंह हो।
यद्यपि, धेरै मिडिया रिपोर्टहरूले दावी गरे अनुसार बाल्यकालमा परिवारले उनलाई स्नेहले लरेन्स भनेर बोलाउन थाले, जुन पछि उनको वास्तविक नाम भन्दा बढी प्रसिद्ध भयो।
लरेन्स बिश्नोईका बुबा लविन्दर सिंह हरियाणा पुलिसमा कन्स्टेबल थिए। उनले सन् १९९२ मा जागिर सुरु गरे पनि पाँच वर्षपछि स्वैच्छिक अवकाश लिएर खेती गर्न थाले ।
लरेन्सले पञ्जाबको अबोहरबाट १२ कक्षा पढेका थिए र थप अध्ययनका लागि २०१० मा चण्डीगढ पुगेका थिए।
सन् २०११ मा उनले चण्डीगढको डीएभी कलेजमा भर्ना भए । यहीँबाट उनी विद्यार्थी राजनीतिमा पनि प्रवेश गरे । बिस्तारै उनले विद्यार्थी राजनीतिमा चासो लिन थाले र यहीँ गोल्डी बरारसँग मित्रता भयो ।
विदेशबाट लरेन्स बिश्नोई गिरोहका लागि काम गर्ने र एक हिसाबले गिरोहको व्यवस्थापन गर्ने सोही गोल्डी बरार रहेको बताइएको छ । लरेन्स आफैँले २०११-२०१२ मा पञ्जाब विश्वविद्यालय विद्यार्थी संगठन (एसओपीयू) गठन गरे र यसको नेता बने।
लरेन्स पञ्जाब, हरियाणा र राजस्थानका धेरै भागहरूमा बसोबास गर्ने बिश्नोई समुदायका हुन्। लरेन्स बिश्नोईको विद्यार्थीकालमा स्कूल र कलेजमा साथमा रहेका अन्य विद्यार्थीहरूले उनी पञ्जाबी, बागरी र हरियाणवी भाषाहरू जान्ने बताउँछन्।
लरेन्स बिश्नोईविरुद्ध मुद्दा
लरेन्स बिश्नोईको विद्यार्थी जीवनको अन्त्यमा हत्याको प्रयासमा संलग्न भएको आरोपमा पहिलो मुद्दा दर्ता भएको थियो। यो घटना सन् २०११-२०१२ को हो।
त्यसपछि विद्यार्थी राजनीतिमा पराजय भोगेपछि आक्रोशित लरेन्सले सहकर्मी विद्यार्थी नेतामाथि गोली प्रहार गरे । उक्त घटनापछि दर्ता भएको मुद्दामा पहिलो पटक प्रहरी एफआईआरमा लरेन्सको नाम उल्लेख गरिएको थियो ।
लरेन्सलाई सन् २०१४ मा राजस्थानमा पहिलो पटक पक्राउ गरी भरतपुर जेल पठाइएको थियो । उनलाई मोहाली ९पञ्जाब० लैजाँदै गर्दा प्रहरी हिरासतबाट भागेका थिए ।
उनी सन् २०१६ मा पुनः पक्राउ परेका थिए । सन् २०२१ मा उनलाई महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्टको मुद्दामा सुरक्षाको कारणले तिहाड जेलमा ल्याइएको थियो।
तिहार ल्याउनुअघि उनलाई पञ्जाबको भटिंडा जेलमा राखिएको थियो ।
सन् २०२२ मा, पञ्जाब प्रहरीले उनलाई (जेलबाटै) सिद्धु मूसेवाला हत्या प्रकरणमा पक्राउ गर्यो।
बिश्नोई समुहद्धारा हत्या गरीएका पञ्जाबी गायक सिद्धु मूसेवाला ।
पञ्जाब प्रहरीले लरेन्स ‘ए’ श्रेणीको ग्याङ्गस्टर भएको बताएको छ । यस श्रेणीको अर्थ यस्तो अपराधी धेरै गम्भीर अपराधमा संलग्न छ भन्ने बुझिन्छ।
सिद्धु मूसेवालाको हत्या भएको केही दिनपछि सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो ।
सन् २०२२ मा गुजरात एन्टी टेररिस्ट स्क्वाडले लरेन्सलाई लागु औषध तस्करी मुद्दामा नाम दिएको थियो। यो मामला कच्छमा पाकिस्तानी जहाजबाट लागु औषधको ठूलो खेप जफतसँग सम्बन्धित थियो।
प्रहरीले उक्त खेपमा लरेन्सको हात रहेको आशंका गरेको थियो । त्यसपछि गुजरात प्रहरीले लरेन्सलाई दिल्लीको जेलबाट निकालेर २३ अगस्ट २०२३ मा गुजरातको साबरमती जेलमा लगेको थियो।
त्यसयता उनी साबरमती कारागारमा छन् । यहाँ यो उल्लेख गर्न महत्त्वपूर्ण छ कि ३० अगस्ट, २०२३ मा केन्द्रीय गृह मन्त्रालयले लरेन्स बिश्नोईलाई कुनै पनि हालतमा एक वर्षको लागि साबरमती जेलबाट बाहिर ल्याउन नसकिने गरी सीआरपीसीको धारा २६८ (१) लगाएको थियो ।
यही कारण अहिले विभिन्न अदालतमा विचाराधीन मुद्दामा उनको हाजिरी भिडियो कन्फरेन्सबाट हुने गरेको छ । लरेन्समाथि हत्या, डकैती र आक्रमणलगायत अन्य धेरै आरोपहरू छन्।
उनीविरुद्ध पञ्जाब, दिल्ली र राजस्थानमा दर्जनौँ मुद्दा दर्ता छन् तर प्रहरीका अनुसार लरेन्सलाई चारवटा मुद्दामा दोषी ठहर गरिएको छ।
लरेन्स बिश्नोईविरुद्ध हाल २२ मुद्दा विचाराधीन छन् भने उनीविरुद्ध ७ वटा मुद्दामा अनुसन्धान भइरहेको छ ।
लरेन्स बिश्नोई गिरोह
बिश्नोईको गिरोहमा करिब ७ सय सदस्य रहेको बताइएको छ । यो गिरोह आज क्यानडाबाट सञ्चालित भइरहेको र यसको नेताको नाम गोल्डी बरार रहेको बताइन्छ ।
प्रहरीले सिद्धु मूसेवाला हत्याका मुख्य योजनाकार गोल्डी बरारसँगै अन्य कैयौँ मुद्दामा खोजी गरिरहेको छ । पञ्जाब प्रहरीका अनुसार उनी सिद्धु मूसेवालाको हत्यामा जिम्मेवार छन्।
लरेन्सको गिरोहमा पञ्जाब, हरियाणा र राजस्थानका मानिसहरु रहेको बताइएको छ । यो गिरोह तीन प्रदेशमा सक्रिय छ ।
एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा लरेन्सले आफ्नो गिरोहको बारेमा भनेका छन्, ‘यो गिरोह होइन। यो उस्तै पीडा भएका मानिसहरूको समूह हो।’
सामान्यतया अपराधी अपराध गरेपछि प्रहरी र कानुनबाट लुकेर बस्छन् । लरेन्स बिश्नोई र उनको गिरोह भने कुनै पनि ठुला घटना भएपछि त्यसको जिम्मेवारी आफैँ लिन्छ ।
देशका विभिन्न राज्यमा लरेन्सको सनसनीपूर्ण अपराधका बारेमा कुरा गत वर्ष जयपुरमा कर्णी सेनाका अध्यक्ष सुखदेव सिंह गोगामेडीको हत्याका घटना पनि चर्चामा आएको थियो ।
बीबीसी हिन्दीबाट
२९ आश्विन २०८१, मंगलवार १६:२७ प्रकाशित