दशैंकाे दिन युवककाे हत्या, टाउकाे बाेकेर हत्यारा फरार
  • काँचुली खबर

२७ असाेज, काेहलपुर । बाँकेकाे कोहलपुरमा दसैँको दिन एक जनाको घाँटी रेटेर हत्या भएको छ । शनिबार राति कोहलपुर नगरपालिका-८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको हो ।

पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा शनिबार राति हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको थियो । टाउको नभएको अवस्थामा फेला परेको शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरीका अनुसार टाउको बिनाको शव स्थानीय ४० वर्षिय चन्द्रबहादुर कामीको रहेको सनाखत भएको हो । शवको सनाखत चन्द्रबहादुरका बुबाले गरेका थिए । घरदेखि करिब पाँच सय मिटर टाढा चन्द्रबहादुरको हत्या भएको अवस्थामा शनिबार राति नै शव फेला परेको थियो ।

शनिबार राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर र नजिकैकाे प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चन्द्रबहादुरको टाउको अझै भेटिएको छैन । घटना १२ बजेअघि नै भइसकेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले टाउको बिनाको शवलाई आवश्यक प्रक्रिया पुर्याएर पोस्टपार्टम्का लागि भेरी अस्पताल नेपालगन्ज पठाएको छ ।

घटनास्थलदेखि करिब दुई सय मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सीसि क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले झोलामा हत्या गरिएका चन्द्रबहादुरको टाउको रहेको हुनसक्ने अनुमान गरेका छन् ।

राति नै प्रहरीले घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरको तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । हत्या गरिएका चन्द्रबहादुरको टाउकोको खोजी र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • २७ आश्विन २०८१, आईतवार ०८:३८ प्रकाशित
  • Nabintech