२४ असाेज, नेपालगन्ज । नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो ।
भारतीय सीमा सुरक्षाको बेरियर नेपाली समय अनुसार राती सवा १० बजेसम्म (भारतीय समय १० बजे) खुल्ला रहने र भारतीय नाकाबाट नेपाली बेरियरसम्म पैदल आउन १०-१५ मिनेट समय लाग्ने हुँदा समस्या भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै राजश्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णय अनुसार यात्रु शाखाको बेरियर भारतीय नाकाको समय अनुसार व्यवस्थापन गरिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए ।
नेपाली बेरियर गेट अब विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ । भन्सार नियमावली, २०४६ को नियम ६६ मा भन्सार कार्यालयको प्रमुखले भन्सार कार्यालय खोल्ने र बन्द गर्ने समय तोकी सर्वसाधारणका लागि भन्सार कार्यालयको सूचनापाटीमा टाँसिदिनुपर्ने भन्ने ब्यवस्था रहेको छ ।
यसैगरी भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाह नाका गेट नजिकै सारिएको छ । यसले सीमामा रहेका नेपाली बस्तीका मानिसहरुको आवागमनलाई सहज बनाउनेछ । यसअघि सीमाबर्ती गाउँका बासिन्दाले ब्यहोर्दै आएको सास्ती अब हट्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले लामो समयदेखि यो आवाज उठाउँदै आएका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो निर्णय कार्यान्वयनसंगै नागरिकलाई निकै सहज हुने बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भारतीय र नेपाली सीमा सुरक्षा बेरियर गेट बन्द हुने समय नमिल्दा भइरहेको अप्ठरो अब सम्बोधन भएको बताए ।
२४ आश्विन २०८१, बिहीबार २०:०५ प्रकाशित