यि हुन एनपिएलका महँगा १२ खेलाडी
  • काँचुली खबर

२२ असोज, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल)का आठ टोलीले ‘ए’ देखि ‘सी’ ग्रेडसम्मका खेलाडी आबद्ध गरेका छन् । बोलकबोलमा धेरै रकम खर्चेर खेलाडी भित्र्याउन फ्रेन्चाइज टोलीबिच रोचक प्रतिस्पर्धा भएको थियो । अक्सनमा १२ खेलाडी समान १५ लाखमा बिक्री भए । उनीहरू गोलाप्रथाबाट अनुबन्धित भएका हुन् । एनपिएलमा सर्वाधिक महँगा १२ खेलाडी ‘ए’ ग्रेडका छन् । लुम्बिनी लायन्सले तीन खेलाडीलाई १५-१५ लाख खर्च गर्‍यो । चितवन राइनोजले ‘ए’ ग्रेडका कुनै खेलाडीमाथि बोली नै लगाएनन् । आठ टोलीले १०-१० खेलाडी भित्र्याएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी १६ मंसिरदेखि त्रिवि क्रिकेट मैदानमा लिग हुनेछ ।

लोकेश बम (विराटनगर किंग्स)

विराटनगरले ब्याट्सम्यान लोकेश भित्र्याउन १५ लाख खर्चियो । लोकेश टी-२० का अनुभवी खेलाडी हुन् । उनले नेपालबाट ११ टी-२० आई खेलमा आठ इनिङ्स ब्याटिङ गर्न अवसर पाए । उनले ३३ बलमा ८६ रन बटुले । १२२.८५ स्ट्राइकमा ब्याटिङ गर्न रुचाउने उनी घरेलु क्रिकेटमा एपिएफमा आबद्ध छन् । उनले घरेलु टी-२० मा १६ खेलबाट दुई सय ७० रन बनाएका छन् । यसक्रममा उनले एक शतकीय इनिङ्स पनि खेलेका छन् । सन् २०२२ मा उनले युएईविरुद्ध टी-२० खेलमा डेब्युको अवसर पाए । गत मार्चमा उनले आयरल्यान्डको ‘ए’विरुद्ध एक सय ६ रन खेलेका थिए ।

प्रतिश जिसी (विराटनगर किंग्स)

बलिङ अलराउन्डर प्रतिश एनपिएलका महँगा खेलाडी हुन् । विराटनगरले उनलाई भित्र्याउन १५ लाख खर्च गर्‍यो । ब्याटिङमा खासै मौका नपाएका प्रतिशतले बलिङमा राम्रो गर्न सक्छन् । विराटनगरले मध्यक्रममा एक राम्रा बलिङ अलराउन्डर भित्र्याएको मान्छन् । नेपालबाट उनले तीन एकदिवसीय र १० टी-२०आई खेल खेलेका छन् । एकदिवसीयमा दुई तथा टी-२० आइमा आठ विकेट हात पारेका छन् । उनको ‘ए’ लिस्टमा पाँचपटक अवसर पाउँदा ४५ रन जोडेका छन् । गत मार्चमा त्रिवि क्रिकेट मैदानमा उनले वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्ध तीनपटक अवसर पाए । सन् २०२३ मा उनले राष्ट्रिय टोलिमा डेब्यु गरेका थिए ।

ललित राजवंशी (जनकपुर बोल्ट्स)

एकदिवसीय र टी-२० फर्म्याटका नियमित खेलाडीका रूपमा ललित स्थापित हुन खोजिरहेका छन् । दायाँहाते ब्याट्सम्यान र बायाँहाते बलर ललितले अहिलेसम्म ३२ एकदिवसीय र २२ टी-२०आई खेल खेलेका छन् । स्पिनरका रूपमा उनले सुरुमै मौका पाउने गरेका छन् । उनले टी-२० आईमा २० र एकदिवसीयमा ४० विकेट लिएका छन् । उनले ५० ओभरमा ३७ रन जोडेका छन् । गत साता क्यानडाको किंग्स सिटीमा सिरिजमा उनले दुई विकेट लिएका थिए । जनकपुरले नेपाली टोलीकै सिनियर खेलाडीलाई भित्र्याएर सन्तुलित बनाएको छ ।

अनिलकुमार साह (जनकपुर बोल्ट्स)

विकेटकिपर ब्याट्सम्यान अनिल नेपालको सिनियर खेलाडीमै पर्छन् । सन् २०१८ मै उनले एकदिवसीय र टी-२०आईमा डेब्यु गरेका थिए । क्यानडा, नेपाल र ओमान सम्मिलित टी-२० सिरिजमा उनले मौका पाए । आवश्यक परेको वेला अनिल बलिङ गर्छन् । ब्याटिङ, बलिङ र विकेटकिपिङ गर्न सक्ने क्षमता भएका कारण नै उनलाई जनकपुरले १५ लाख खर्चेर अनुबन्ध गर्न सफल भयो । अनिलले १२ एकदिवसीयमा दुई सय ७० रन तथा नौ टी-२० आईमा एक सय ४९ रन बनाएका छन् । ५० ओभरमा उनले एक शतक तथा दुई अर्धशतक इनिङ्स खेलेका छन् ।

गुल्सन झा (कर्णाली याक्स)

पछिल्लो समयमा नेपालका भरपर्दा अलराउन्डर गुल्सन हुन् । क्यानडामा भएको आइसिसी विश्वकप लिग २ र त्रिकोणात्मक सिरिजमा उनले ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गरे । पुछारमा आएर पनि टोलीलाई राम्रै रनको योगदान दिन उनी माहिर छन् । यसै खुबीका कारण उनलाई भित्र्याउन सात टोलीले बोली लगाएका थिए । तर, गोलाप्रथामा कर्णालीले उनलाई भित्र्यायो । ३० एकदिवसीयमा ६ सय १६ रन तथा ३५ टी-२० आईमा चार सय ४७ रन बनाएका गुल्सन नेपाल पुलिस क्लबमा आबद्ध छन् । उनले ५० ओभरमा २८ तथा टी-२० आईमा २१ विकेट लिएका छन् । क्यानडामा उनले ओमानविरुद्ध ५३ रन र ४० रन खेलेका थिए ।

सहाब आलम (काठमाडौं गोर्खाज)

घरेलु क्रिकेटमा नाम चलेका खेलाडीमा सहाब पनि हुन् । ब्याटिङ र बलिङ गर्न सक्ने उनको विशेषता हो । उनको दक्षता बलिङ हो । नेपालबाट उनले ६ पटक टी-२० आईमा अवसर पाउँदा चार विकेट लिएका छन् । उनले लिस्ट ‘ए’ मा ६ तथा टी-२० मा चार विकेट लिएका छन् । अक्सनमा सहाबले ‘ए’ ग्रेडमा आफूलाई राखेका थिए । काठमाडौंले उनलाई १५ लाख खर्चेर भित्र्यायो । उनी रुपन्देही च्यालेन्जर्सका खेलाडी हुन् ।

भीम सार्की (काठमाडौं गोर्खाज)

भीम पहिलो वा दोस्रो डाउनमा आएर आक्रामक ब्याटिङ गर्न मन पराउँछन् । काठमाडौंले मध्यक्रमको ब्याटिङ बलियो बनाउन १५ लाख खर्चेर उनलाई भित्र्याएको छ । उनले अहिलेसम्म अन्तर्राष्ट्रिय विकेट हात पार्न सकेका छैनन् । तर, कसिलो बलिङ गरी उनले विपक्षीमाथि दबाब राख्ने गरेका छन् । ५० ओभरमा उनले २८ खेलमा सात सय ३ रन जोडेका छन् । उनले एक शतक तथा तीन अर्धशतक बनाएका छन् । टी-२० का खेलाडी नभए पनि काठमाडौंले भीमको माध्यमबाट विपक्षी बलरलाई सतर्क बनाउने योजना बनाएको छ । क्यानडाको सिरिजमा उनले चारपटक ब्याटिङ गर्न अवसर पाउँदा त्यसलाई न्याय दिन सकेनन् । २०२२ मा उनले पिएनजीविरुद्ध डेब्यु गरेका थिए ।

सूर्य तामाङ (लुम्बिनी लायन्स)

टी-२० आइमा सूर्यले नेपालबाट डेब्यु गरेका छैनन् । विशेष गरी उनी एकदिवसीय फर्म्याटका खेलाडी हुन् । तर, लुम्बिनीले ब्याटिङ लाइन बलियो बनाउन १५ लाख खर्चेर उनलाई अनुबन्ध गरेको छ । गत फेब्रुअरीमा विश्वकप लिग २ मा क्यानडाविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका उनले १० रन मात्र जोडेका छन् । बलिङ क्रममा उनले एकदिवसीय खेलमा एक विकेट हात पारेका छन् । घरेलु क्रिकेटमा नाम चलेका खेलाडी भए पनि उनले त्यति अवसर पाएका छैनन् । तर, लुम्बिनी उनीमाथि धेरै विश्वास गरेको छ ।

विवेक यादव (लुम्बिनी लायन्स)

लुम्बिनीले बलिङ अलराउन्डरका रूपमा विवेकलाई भित्र्याएको हो । यस टोलीका मुख्य प्रशिक्षक शक्ति गौचन हुन् । त्रिवि क्रिकेट मैदानमा स्पिनरले सहजै ब्याट्सम्यानमाथि दबाब बनाउन सक्छन् । यो पक्ष प्रशिक्षक शक्तिलाई राम्रोसँग थाहा छ । यसकारण उनले बलिङ अलराउन्डर भूमिका निर्वाह गर्न सक्ने विवेकमाथि १५ लाख खर्चँदै भित्र्याए । दायाँहाते ब्याट्सम्यान र बायाँहाते बलर विवेकले १९ टी-२० आईमा एक विकेट लिएका छन् । २०२२ मा ओमानविरुद्ध टी-२० आईमा डेब्यु गरेका विवेकले ब्याटिङमा ९१ रन जोडेका छन् ।

सन्दीप जोरा (लुम्बिनी लायन्स)

सन् २०१९ मै सन्दीपले नेपालबाट एकदिवसीय र टी-२० आईमा डेब्यु अवसर पाएका थिए । धेरैपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाए । गत मे र जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी-२० विश्वकपमा उनले एकपटक मात्र मौका पाए । बंगलादेशविरुद्धको ब्याटिङमा एक रन मात्र बटुले । घरेलु क्रिकेटका नाम चलेका खेलाडी सन्दीप विशेषतः टी-२० फर्म्याटमा दखल राख्छन् । उनले ३१ टी-२० आई खेलमा तीन सय ३८ रन बनाएका छन् । यसक्रममा उनले तीन अर्धशतक बनाएका छन् । लुम्बिनीका प्रशिक्षक शक्तिले मध्यक्रम ब्याटिङ मजबुत गर्न सन्दीपलाई अनुबन्ध गरेको हो ।

सागर ढकाल (पोखरा एभेन्जर्स)

सागरले राष्ट्रिय टोलीमा डेब्यु गरेको दुई वर्ष मात्र भएको छ । पोखरामा मार्कीपछि सागर नाम चलेका एक्ला खेलाडी हुन् । अक्सनमा राम्रा खेलाडी भित्र्याउन खर्च गर्न तयार हुँदा पोखराले सोचेजस्तो भएन । गोलाप्रथाबाट पोखराले रोजेका खेलाडी अरूको पोल्टामा गयो । अन्तिम समयमा उसले बलर सागरलाई १५ लाख खर्चेर अनुबन्ध गर्‍यो । उनले आठ एकदिवसीयमा चार र चार टी-२० आईमा एक विकेट लिएका छन् । पोखराले उनीबाट मध्यक्रम तथा बलिङमा धेरै विश्वास गरेको छ ।

मो. आरिफ सेख (सुदूरपश्चिम)

एनपिएल अक्सनमा आश्चर्य जनक रूपमा मोहमद आरिफ सेख १५ लाखमा विक्री भयो । सुदूरपश्चिमले आरिफलाई अनुभवी खेलाडीका रूपमा भित्र्याउन कुनै संकोच गरेन । मोहमद आरिफले आफूलाई ‘ए’ ग्रेडमै समावेश गरेका थिए । उनको मुख्य भूमिका विकेटकिपिङ ब्याटिङ हो । दायाँ हात ब्याट्सम्यान उनी मध्यम गतिका बलिङ गर्छन् । सुदूरपश्चिमले उनीबाट विकेटकिपिङ र ब्याटिङमा आशा गरेको छ ।

  • २२ आश्विन २०८१, मंगलवार १४:०४ प्रकाशित
  • Nabintech