११ बैशाख २०८१, मंगलवार
गाँउसभामै चल्दैन दलितको पानी, झुक्किएर छोइहाले सुनपानी
  • काँचुली खबर

जुम्ला–तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो जातका जनप्रतिनिधि नै हुन् । गाउँमा जातीय बहिष्करणको सिकार बनेका नागरिकसँगै गाउँपालिका बैठकमै माथिल्लो जातका व्यक्तिले पानी छोइदिएको भन्दै खान नमानेको तितो अनुभव सुनाउँछन्, दलित प्रतिनिधि ।
दलित भएकै कारण गाउँ कार्यपालिकाको बैठकदेखि विभिन्न सभा सम्मेलनमा समेत सहकर्मीबाटै हेपिएको तितो अनुभव दलित जनप्रतिनिधिसँग छ । तातोपानी गाउँपालिका–५ की वडा सदस्य दुरुपति नेपाली आफू दलित भएकै कारण सार्वजनिक ठाउँमा कैयौंपटक हेपिनुपरेको बताउँछिन् । वडाको बैठकमै उनलाई माथिल्ला जातका सदस्यले उनले छोएको पानीसमेत खान नमानेको बताउँछिन् ।
‘वडापालिकाका ब्राह्मण सदस्यहरू बैठकमा मैलै छोएको पानीसमेत पिउदैनन्, म दुखित छु, जातीय आधारमा हेपिएको महसुस भएको छ,’ उनले भनिन् ।
जनप्रतिनिधि नेपाली एकल महिला पनि हुन् । एकल महिला र दलित आरोपमा उनलाई स्थानीय धामी झाँक्रीले समेत छुन मान्दैनन् । झुक्किएर छोइहाले सुनपानीसम्म छर्कन्छन् ।

‘मलाई दलित एकल महिला भनेर गाउँका धामी झाँक्रीले समेत छुन मान्दैनन्,’ उनी भन्छिन्, ‘स्थानीय तह कार्यान्वयनमा आएपछि जातीय विभेदको अन्त्य हुनुपर्ने हो तर झन् हावी भएको छ ।’
जातीय विभेद गर्ने र विभेदको मारमा पर्ने जनप्रतिनिधि नै छन् । अझै पनि दलित र ब्राह्मण बस्ती रहेको गाउँमा सार्वजनिक काममा होस् या समाजभित्र जातीय छुवाछूतको अवस्था उस्तै रहेको तातोपानीका लोकबहादुर परियारले बताइन् ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुुख लालबहादुर सार्कीले जातका आधारमा गरिने व्यवहार विद्यमान रहेको बताए । उनी विशेषगरी बाहुन क्षेत्रीमा जातिवाद हावी रहेको दाबी गर्छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

  • १३ श्रावण २०७५, आईतवार ०७:३७ प्रकाशित
  • Nabintech