रुकुम हिडेको माइक्रो घरभित्र छिर्‍यो
  • काँचुली खबर

२० असोज, दाङ । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा प्र ०३ – ००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको थियो ।

गाडी केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए।

दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन्।

प्रहरी निरीक्षक थापाका अनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका ४ का २५ वर्षीय कुमार सन्यासी , यात्रुहरु सल्यानको शारदा नगरपालिका ७ की २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्षीय रणविर नेपाली, सल्यान बागचौर नगरपालिका ७ का २७ वर्षीया सपना चलाउने, जाजरकोटको भेरी नगरपालिका ४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर विक घाइते भएका छन् ।

गाडीमा कुल ९ जना यात्रारत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइ रहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २० आश्विन २०८१, आईतवार १६:३४ प्रकाशित
  • Nabintech