वर्षाले राप्तीसोनारीको धानबालीमा क्षति
  • काँचुली खबर

फाईल तस्बिर ।

२० असोज, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका हुन् ।

काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी-३ की बजारी थारुले बताइन् । “पानीले भिजेर धान खेतमा जमरा झैँ उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ”, उनले भनिन् ।

करिब ६ कट्ठा जमिनमा लगाएको महेन्द्र ६ सय ६ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुसी व्यक्त गरिन् । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्‍याएको उनले जानकारी दिइन् ।

राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए । “मौसम सफा भए बाली भित्राउन पकिन्थ्यो कि ? घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने ?”, उनले प्रश्न गरे ।

स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्‍याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरिन् । राप्तीसोनारी-३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए ।

वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण सङ्कलन गर्न लागिएको बताए । उनका अनुसार राप्तीसोनारी-३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । रासस

  • २० आश्विन २०८१, आईतवार १५:४२ प्रकाशित
  • Nabintech