सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री सभापति रवि लामिछानेलाई कसले दियो ‘क्लिन चिट’ ? अनि, विभिन्न सहकारी संस्थाको ६५ करोड ५४ लाख बचत गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको निष्कर्षसहित अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्ध निर्देशक उनै रविमाथि किन गरियो ‘कारबाहीको सिफारिस’ ? र, गरिब-निमुखा बचतकर्ताको ‘रगतपसिना’को कमाइमाथि रजाइँ गरेका जिबी, रवि र छविलाई किन ‘दोषी’ करार गरिएन ? यी सबै प्रश्नको एउटै वाक्यमा जवाफ दिन्छन्, छानबिन समितिका सभापति सूर्य थापा ‘यो सहमतिको दस्ताबेज हो ।’ तर त्यो प्रतिवेदनमा सहमति जुटाउन र हस्ताक्षर गराउनचाहिँ कम्ता पापड पेल्नुपरेन ‘रविका प्रतिनिधि’ सांसद शिशिर खनाललाई ! संसदीय छानबिन समितिले ९९ दिन लगाएर, ८ सय पृष्ठ लामो प्रतिवेदन तयार पार्दाको अन्तिम क्षण मलिन अनुहारमा देखिन्थे ती । अनि, प्रतिवेदनलाई सबैको सहमतिबाट पारित गर्ने ध्याउन्नमा थिए, सातै जना सदस्य ।
त्यो बेला प्रतिनिधिसभा बैठकमा प्रतिवेदन सुम्पिनुअघि सदस्यहरूबीच ठट्टासमेत चल्यो, ‘यी रवि लामिछानेले दुनियाँलाई रुवाए । हुँदाहुँदा शिशिर मान्यज्यूलाई पनि बाँकी राखेनन् ।’ एमाले, कांग्रेस, माओवादी र राप्रपाका सांसदबीच चलिरहेको खासखुसको सार थियो, रास्वपा सभापति रवि लामिछानेसहित अन्य सहकारी संस्थाको रकम अपचलन गर्ने पात्रलाई संसदीय छानबिन समितिको तर्फबाट ‘कारबाही सिफारिस’ गरिएको प्रतिवेदनमा हस्ताक्षर गर्नुअघि शिशिरले खसालेको आँशुको ढिक्का । प्रतिवेदनको अन्तिम अंशमा कलम कुदाइरहँदा उनको आँखामा सभापति रवि लामिछानेको तस्बिर झल्किरहेको थियो ।
संसदीय छानबिन समितिको सचिवालय स्रोतका अनुसार अघिल्लो राति अवेरसम्म बसेको बैठकमा सभापति थापा, सदस्य दाहाल र खनालबीच झण्डै १५ मिनेट नोकझोंक पनि चल्यो । रास्वपा प्रतिनिधिबाहेक समितिका सबै सदस्य जिबी, रवि र छविलाई ‘दोषी’ नै करार गर्न चाहन्थे तर त्यहाँ शिशिरले रविको प्रतिवाद मात्रै गरेनन्, अनेकौँ बखेडा झिक्न थालेपछि अन्ततः समिति ‘कारबाहीको सिफारिस’ भन्ने शब्दमै अल्झियो । र, सूर्य थापाकै कार्यकक्षमा घण्टौँ बसेर लेखनाथ दाहाल, शिशिर र रविले फोनमा लामो कुराकानी गरे । शिशिर रविको नाम लेख्दा ‘अनुसन्धानका लागि पठाउने’ वाक्य लेखाउन चाहन्थे । तर समितिले ‘कारबाहीको सिफारिस’ शब्द लेखिछाड्यो ।
सभापति सूर्य थापाका अनुसार अर्को दिन शिशिरले झण्डै १२ देखि पौने २ बजेसम्म अनेकौँ तनाव झेल्दै यताउता घुमिरहेका थिए । तारन्तार आफ्नो पार्टीका शीर्ष नेतृत्वको सम्पर्कमै थिए । सभापति रवि लामिछानेलाई प्रतिवेदनका अंश-अंश सुनाउँदै बुझाउने कोसिस गरेका थिए तर उनलाई स्वयं रवि, ज्वाला संग्रौला र प्रतिभा रावलहरूले हस्ताक्षर नगरी बाहिरिन निर्देशन दिइरहेका थिए । शिशिरले त्यो बेला पार्टीका अरु नेताभन्दा पनि सभापतिलाई नै प्रतिवेदनको सारांश बुझाउन बढ्ता कोसिस गरिरहेको संसदीय समितिका सदस्य लेखनाथ दाहालको बुझाइ छ । ‘शिशिर मान्यज्यू डाँको छाडेरै त रुनु भएन तर उहाँका आँखाबाट भने आँशुका डल्ला खसिरहेका थिए । उहाँलाई कम्तीको तनाव थिएन । तारन्तार फोनमा घण्टी बजिरहेको थियो,’ सचिवालयकी एक सदस्यले भनिन्, ‘मान्यज्यू पटकपटक भित्र-बाहिर गरिरहनुभएको थियो । उहाँलाई भेट्न पार्टीनिकट केही व्यक्ति पनि आइरहेका थिए । उहाँले फोनबाट प्रतिवेदनभित्रका वाक्य-वाक्य, शब्द-शब्द केलाइरहनुभएको थियो ।’
त्यसो त रवि लामिछानेले समितिका सभापति सूर्य थापा र सदस्य एंव माओवादी सांसद् लेखनाथ दाहाललाई फोन गरिरहेका थिए । तारन्तार घण्टी बजेपछि सूर्यले फोनै उठाउन छोडे । त्यसपछि अर्का सदस्य एवं राप्रपा सांसद धुवबहादुर प्रधानलाई राप्रपा नेता उद्धव पौडेल र निकिता पौडेल लामिछानेले शिशिर खनालको मागमा साथ दिन आग्रह गर्न थाले तर प्रधान भने, ‘हुन्छ । सकारात्मक छ । अन्याय हुँदैन । चिन्ता लिनुपर्दैन । सबै जनाको सहमति छ, जस्ता वाक्य मात्रै जवाफ फर्काउँथे । प्रतिवेदनमा हस्ताक्षर गर्न शिशिर मात्रै बाँकी थिए, उनलाई सदस्यहरूले हस्ताक्षर गर्न दबाब दिइरहे । उता, अरु सदस्य गफिँदै शिशिरलाई भित्र पर्खिरहेका थिए ।
त्यतिखेर झ्यालछेउमा उभिएर फोनमा बोलिरहेका शिशिरलाई एकजना रास्वपा कार्यकर्ताले ‘चिर्कटो’ थमाइदिए । त्यो कागजको खोस्टो पढेपछि उनी सूर्य थापा र लेखनाथ दाहालप्रति आक्रामक देखिए । त्यति नै बेला माओवादी सांसद् दाहालले जंगिँदै रविलाई फोन लगाए । र, शिशिरले नोटअफ डिसेन्टको सुविधा खोजे योभन्दा कडा प्रतिवेदन लेख्ने चेतावनी दिए । उनी फोनमा भनिरहेका थिए, ‘तपाईंले के सोच्नुभएको हो ? समितिलाई नटेरेको ? हाम्रो कुनै स्थान छैन ? समितिलाई थर्काउने ? हाम्रा पनि अनेकौँ मार्ग छन् । हिजो राति सहमति गरेको विषयमा अहिले आएर निहुँ खोज्ने ? प्रमाणको तथ्यमा टेकेर प्रतिवेदन तयार पारिन्छ, अरु हामीलाई थाहा छैन ।’
रविलाई लेखनाथले थर्काएपछि शिशिर पनि केही ‘नर्मस’ देखिए । सदस्यहरूले शिशिरकै आलोचना गर्न थालेपछि उनी पाँच मिनेटको समय माग्दै बाहिरिए । एकछिन फोनमा गफिए । अनि, आँखाबाट आँशु झार्दै सभापतिबाट प्रतिवेदन मागेर हस्ताक्षर गरे ।
(साभार : जनआस्था साप्ताहिकबाट)
१८ आश्विन २०८१, शुक्रबार १३:१० प्रकाशित