१५ असोज, ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् ।
डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन् । ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुगेका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् ।
पीडितहरुले अझै उद्वारको काम नसकिएको, धेरै मानिसहरु घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन सहज बनाइदिन आग्रह गरे।
पीडितहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाकी सरकारलाई आग्रह गरेर पीडितहरुलाई पुरानै अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सरकारले उद्वार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले सरकारको बिरोध गर्नुभन्दा सबै मिलेर उद्वार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताए ।
जनजीवन सहज बनाएर सबै पीडितलाई दशै मनाउनसक्ने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले आफूहरु पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताए । यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उनले सबैलाई आग्रह गरे ।
स्वयंसेवक परिचालन अभियान सुरु
प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणकालागि माओवादी केन्द्रले राहत, पुनर्स्थापना र पुनर्निर्माणकालागी स्वयंसेवक परिचालन अभियान सुरु गरेको छ । काठमाडौ बल्खुको सुकुम्बासी वस्तीमा अध्यक्ष प्रचण्डले अभियानको उद्घाटन गरेका छन ।
मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष बिपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे ।
२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुखमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
बल्खुको जागरण टोलमा ४१७ घरका झण्डै चार बढी नागरिक प्रभावित भएका छन् ।
१५ आश्विन २०८१, मंगलवार १७:१३ प्रकाशित