१५ असोज, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले १२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो ।
नेपाल–भारतको खुला सिमानाको फाइदा उठाउँदै अवैध रुपमा नेपालगन्जमा सामान ल्याउने गरिन्छ । अवैधरुपले भन्सार छली गरेर भारतबाट नेपालगन्ज भित्र्याएको ११ लाख ८८ हजार रुपियाँ बराबरको १ हजार ८० पिस मोबाइल डिस्प्ले वडा प्रहरीले सार्वजनिक गरेको छ ।
वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमको टोलीले नेपालगन्ज उपमहानगरपालिका-४ सल्यानीबाग नजिकबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बरामद गरिएको मोबाइल डिस्प्लेलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।
यसैगरी चाडपर्व नजिकिदै गर्दा भारतबाट नेपालमा अवैध सामानहरु भित्रिने गरेपछि प्रहरीले सुरक्षा चेकजाँच पनि बढाउँदै लगेको जनाएको छ । गत असोज १० गते पनि जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलीगरी ल्याइएको ठूलो परिमाणमा अवैध लत्ताकपडा बरामद गरेको थियो ।
बाँके प्रहरीको टोलीले नेपालगन्ज-४ बसपार्क आसपासबाट अवैध रुपले ल्याइएको लेडिज कटन सुट, लेडिज सारी, उलनकुर्ता, बर्का र मखमलको कपडालगायतका अन्य लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँके प्रहरीले बरामद गरेको २ लाख २४ हजार ७ सय रुपियाँ बराबरका सबै अवैध लत्ताकपडा आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको थियो ।
१५ आश्विन २०८१, मंगलवार १४:२१ प्रकाशित