क्यानडामा नेपालकाे पहिलाे जित, राेकियाे हारकाे शृङ्खला
  • काँचुली खबर

१४ असोज, काठमाडौं । क्यानडामा नेपालले पहिलो जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो ।

लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगायो । नेपालले सोमवार विहान सकिएको खेलमा ओमानमाथि ३७ रनको जित हात पारेको हो । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।

१७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए ।

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनको अविजित इनिङ खेलेका थिए। दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।

आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७-२७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २-२ रनमा आउट भए ।

कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।
ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १-१ विकेट लिए ।
नेपाल त्रिकोणात्मक टी-२० सिरिजमा पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । अव मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।
  • १४ आश्विन २०८१, सोमबार ०६:३७ प्रकाशित
  • Nabintech