दुई महिनामै पौने ८ करोडको अवैध सामान बरामद
  • काँचुली खबर

७ असोज, नेपालगन्ज । लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बलले दुई महिनामै पौने ८ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीको नेतृत्व गरेको लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा अन्तर्गतका तराईसँग सीमा जोडिएका ७ जिल्लामा तैनाथ सशस्त्र प्रहरी युनिटहरूले गत साउनदेखि हालसम्म ७ करोड ७४ लाख ७९ हजार ८ सय ६० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेका हुन् । लुम्बिनीका सशस्त्र प्रहरी युनिटले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५ करोड ७ लाख ८० हजार ७ सय ६२ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेका थिए ।

विन्ध्यवासिनी बाहिनीका अनुसार बरामद गरिएका अवैध सामग्रीमा लत्ताकपडा, किराना सामग्री, चिनी, मोटर पार्ट्स, मोबाइल डिस्प्ले, कुखुरा लगायत अन्य रहेका छन् । सशस्त्र प्रहरीले बरामद गरेका सबै अवैध सामग्रीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्लाका भन्सार कार्यालयमा बुझाइसकेको विन्ध्यवासिनी बाहिनीले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले लुम्बिनीका सीमामा हुने अवैध तस्करी मात्रै नभई सीमा नाकाबाट हुने मानव बेचबिखन, लागूऔषध कारोबार र सीमा अपराधलाई कडा निगरानी गर्दै नियन्त्रणका लागि समेत भूमिका खेल्दै आएको छ ।

नागरिकको सुरक्षाका लागि प्राथमिक स्वास्थ्यतर्फ सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरका सीमावर्ती ७ जिल्लाका १७ स्थानहरूमा चौबिसै घण्टा हेल्थ डेस्कबाट समेत सेवा दिँदै आएको छ भने भदौ महिनामा मात्रै सञ्चालित हेल्थ डेस्कबाट ४ हजार १५ र असोजको पहिलो सातासम्म १ हजार ६३ जनलाई सेवा दिइएको विन्ध्यवासिनी बाहिनीले जनाएको छ ।

त्यस्तै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बाहिनी, जिल्लास्थित गण, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी तथा बेसहरूले स्थानीय प्रशासन, नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल लगायत सम्बन्धित सरोकार राख्ने निकायहरूसँग आवश्यक समन्वय गर्दै आमनागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालित भइसकेको बाहिनी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रदिप कुमार पालले बताए ।

  • ७ आश्विन २०८१, सोमबार १३:५६ प्रकाशित
  • Nabintech