बाँकेमा मान्छेलाई आक्रमण गर्ने बाघ समात्न हात्ती परीचालन
  • काँचुली खबर

फाईल तस्बिर ।

५ असोज, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोला जङ्गल आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना हुन थालेपछि बाघलाई नियन्त्रण गर्न हात्तीसहितको टोली परिचालन भएको छ ।

ईलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार बाँके राष्ट्रिय निकुञ्जका २ वटा हात्तीसहित सुरक्षाकर्मी र स्थानीय बासिन्दा बाघको खोजीमा जुटेका छन् ।

बाघको खोजीका लागि डिभिजन वन कार्यालय बाँके र बर्दियाको २ वटा खोरसहित प्राविधिक टोली जङ्गली क्षेत्रमा बाघको खोजीका लागि परिचालन भएको छ ।

बाघको खोजीका लागि वन क्षेत्रमा क्यामेरा समेत जडान गरिएको प्रहरी निरीक्षक केसीले बताए । प्रहरी निरीक्षक केसीले भने, ‘जङ्गलका विभिन्न स्थानमा बाघका पाइला पहिचान गरिएको छ, तीन दिनदेखि खोजी कार्य जारी छ ।’

यसअघि आइतबार खजुरा गाउँपालिका-६ सिमलघारीका वीरेन्द्र पुनकी ३ वर्षीया छोरी लक्ष्मी पुनको बाघको आक्रमणबाट ज्यान गएको थियो । घरबाटै बेपत्ता बालिकाको मङ्गलबार बिहान घरनजिक रहेको जङ्गलबाट शव फेला परेको थियो । सिमलघारीमा गिजरा सामुदायिक वन रहेको छ ।

बाँकेको राप्ती-सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा पटक-पटक बाघको आक्रमणमा मानिसको ज्यान जाने गरे पनि निकुञ्जभन्दा टाढा रहेको खजुरामै बाघले घरबाटै बालिकालाई आक्रमण गरेपछि स्थानीय बासिन्दा त्रषित भएका छन् ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले बाघ-चितुवा नियन्त्रणका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा वन डिभिजनको सहयोग लिइएको जानकारी दिईन ।

  • ५ आश्विन २०८१, शनिबार १८:५६ प्रकाशित
  • Nabintech