बाँकेमा कोभिड विरुद्धको फाइजर खोप लगाउन सुरु
  • काँचुली खबर

४ असोज, नेपालगन्ज । बाँकेमा कोभिड-१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको नगर अस्पतालमा फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको हो ।

उनले कोभिड-१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउने कार्य भेरी अस्पतालमा असोज १६ गतेसम्म निरन्तर जारी रहने जनाउँदै सबैले यो अवसरको फाइदा उठाउन आग्रह गरे । १२ वर्षभन्दा माथिका नागरिकहरुले बुष्टर डोजका रुपमा फाइजर बाइभ्यालेन्ट खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठका अनुसार जिल्लामा ३० हजार डोज फाइजर बाइभ्यालेन्ट खोप आएको छ । उनले खोप लगाउने लक्षित वर्गको तुलनामा खोपको मात्रा कम भएपनि प्राप्त खोपलाई प्रभावकारी ढङ्गबाट लगाउने गरि योजना बनाइएको बताउँदै कोरोनाका बिरामी अहिलेपनि देखिरहेकाले सचेत रहनुपर्नेमा जोड दिए ।

कोरोना संक्रमणबाट जोगाउन यो खोप अत्यन्तै प्रभावकारी भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोभिड फोकल पर्सन समेत रहेका सूचना अधिकारी श्रेष्ठले गत आर्थिक वर्षमा जिल्लामा १९ जनामा कोभिड संक्रमण देखिएको जनाउँदै भेरी अस्पतालमा अहिले पनि कोभिडका बिरामीहरु आइरहेको अस्पतालले जनाएको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार अघिल्लो मात्रा लिएको एक वर्ष पूरा भएका १२ वर्ष उमेर माथिका सबै सेवाग्राहीहरु, अघिल्लो मात्रा लिएको एक वर्ष पूरा भएका सबै दीर्घरोगीहरु र फ्रन्टलाइनर स्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई बुस्टर मात्रा लगाइने छ ।

यसैगरी प्रत्येक गर्भवतीको दोस्रो त्रैमासिक समयमा एक मात्रा र १२ वर्ष माथिको उमेर समूहमा एक मात्रा पनि नपाएकाहरुलाई पहिलो एक मात्रा खोप दिइने छ । बुस्टर र थपमात्रा लिन आउने सेवाग्राहीहरुले पहिले लिएको कोभिड-१९ खोप कार्ड अनिवार्य रुपमा लिएर खोप केन्द्रमा आउन पनि स्वास्थ्य कार्यालयले सेवाग्राहीसँग आग्रह गरेको छ । उता, कोहलपुर नगरपालिकाले पनि नगर अस्पतालसहित पन्ध्र वटै वडामा खोप लगाउने कार्यक्रम राखेको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए ।

  • ४ आश्विन २०८१, शुक्रबार १८:१६ प्रकाशित
  • Nabintech