बाघले खाएको अवस्थामा बालिकाको शव भेटियो
  • काँचुली खबर

१ असोज, नेपालगन्ज । आइतबार रातीदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो ।

खोजतलासका क्रममा बेपत्ता बालिकाको घर नजिकैको जङ्गलबाट मङ्गलबार बिहान ११ बजे बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

मृतक बालिकाको घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको उनले जानकारी दिए ।

“बेपत्ता बालिकाको खोजतलासका क्रममा आज बिहान करिब ११ बजेको समयमा शव फेला परेको छ, उनको शरीरको अन्य भाग भने जङ्गली जनावरले खाइसकेको अवस्था रहेछ, टाउको र दाहिने खुट्टा फेला परेको छ ।” प्रहरी निरीक्षक बुढामगरले भने, “बाघले खायो कि चितुवाले खायो त्यो भने अझै खुलेको छैन, तर कुनै जङ्गली जनावरले खाएको हो ।”

मृतक बालिका आइतबार राती करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी थिईन । उनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको थियो ।

आइतबार रातिदेखि नै प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयको टोली, पालिकाका जनप्रतिनिधि, बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोली साथै स्थानीयवासीहरु बालिकाको खोजतलासमा लगातार जुटेका थिए ।

  • १ आश्विन २०८१, मंगलवार १८:२३ प्रकाशित
  • Nabintech