ठगी आरोपमा कलाकार इकु पक्राउ
  • काँचुली खबर

२६ भदौ, काठमाण्डौं । कलाकारका रूपमा युरोप पठाउने भन्दै ठगेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक जना कलाकारलाई पक्राउ गरेको छ ।

सिआइबीले ललितपुर महानगरपालिका-२४ धापाखेल घर भई काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (इकु) भनिनने सूर्यमान शंकरलाई पक्राउ गरेको एसपी होबिन्‍द्र बोगटीले जानकारी दिए ।

विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप उनीमाथि छ ।

विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत हुने प्रलोभन देखाएर उनले सञ्चालन गरिरहेको एसएमएस फिल्म्स प्रालीको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्न लगाउने गरेको आरोप छ ।

एसपी बोगटीका अनुसार खातामा १५ देखि २० लाख सम्म जम्मा गर्न लगाएको खुलेको हो ।

विदेशी मुलुकमा भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको र रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयार हुँदैछ तयार भएपछि खबर गर्छु भनेर झुलाएर सम्पर्कबिहीन भएको खुलेको हो।

उनीमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ। उनीबाट ठगिएका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आउन पनि सिआइबीले अनुरोध गरेको छ।

  • २६ भाद्र २०८१, बुधबार १४:३४ प्रकाशित
  • Nabintech