४ बैशाख २०८१, मंगलवार
कुखुरा पालनमा रमाउँदै दुई विषयमा डिग्री पास गरेकी गीता
  • काँचुली खबर

पढेलेखेका धेरै युवायुवतीको उद्देश्य भनेकै राम्रो जागिर खाने हुन्छ । त्यसमा पनि सकभर एनजीओ, आइएनजीओ र सरकारी जागिर । आफ्ना छोराछोरी पढेर राम्रो जागिर
गरुन् भन्ने अभिभावकको पनि सपना हुन्छ । तर कोही यस्ता व्यक्तिहरु पनि छन, जसले राम्रो जागिर छोडेर आफ्नै गाउँघरमा राम्रो व्यवसाय गरिरहेका छन् । तिनैमध्येकी एक हुन, जानकी गाउँपालिका-२ बाँकेकी गीता मौर्या ।
उनले दुईवटा विषयमा स्नातकोत्तर पास गर्नु गरेकी छन । पढेर जागिर नै गर्नुपर्छ भन्ने दबाब र चलनका कारण सुरुमा गीताले पनि धेरै ठाउँमा जागिर गरिने ।
१२ कक्षा पास गरेपछि जागिर गर्दै पढेकी गीताले दुईवटा विषयमा ‘डिग्री’ गर्दासम्म करिब ११ वर्ष विभिन्न ठाउँमा जागिरको अनुभव लिईन । सुरुमा नेपालगञ्जमा रहेको नागरिक विकास केन्द्र नामक संस्थामा परिवार नियोजन कार्यक्रम अन्तर्गत फिल्ड सुपरभारइजरका रुपमा तीन वर्ष काम गरिन ।
त्यसपछि रुपडिया मिसन अस्पतालमा ७ वर्ष र २ वर्ष काभ्रेमा रहेको शेयर, केयर संस्थामा काम पनि गरिन ।
गीताले अब जागिर गर्छु भनेर पढाईलाई भने कहिल्यै नछोडेको बताउँछिन । सुरुमा भारतको अबद युनिभर्सिटीबाट व्यवस्थापन संकायमा ‘डिग्री’ गरेकी गिताले नेशनल ओपन कलेज सानेपाबाट अस्पताल व्यवस्थापनमा दोस्रो ‘डिग्री’ हासिल गरिन ।
‘डिग्री’ गर्दै जागिर खाएकी उनलाई जागिरले सन्तुष्टी दिएन । आफ्नै व्यवसाय गर्ने रहर जाग्यो । विगत पाँच वर्षदेखि उनले आफ्नै गाउँमा पोल्ट्री फर्म सुरु गरेकी छन । बिभिन्न जिल्लामा अण्डा र कुखुरा वितरण गर्दा हुने आम्दानीले उनलाई निकै सन्तुष्ट दिएको छ ।
नेपालगञ्जको बिपी चोकबाट करिब ९ किलोमिटर पूर्व गीताको कुखुरा फर्म छ । करिब एक बिगाहा जग्गामा दुई वटा छुट्टा-छुट्टै फर्ममा ६ हजार कुखरा राखिएको छ । तीन हजार कुकुरा हुर्किंदैछन् भने तीन हजार कुखुराले अण्डा दिन सुरु गरिसकेका छन् ।
बिहानै उठ्यो, कुखुराको खोरमा पुग्यो, कुखुराको अवस्था बुझ्यो, दानापानी दियो, बिरामी कुखुरालाई औषधी गर्यो, फोहोर भएका भाँडाहरु सफा ग¥यो । त्यसपछि आफ्नो
सरसफाई र खानेकुरा तयार गर्दै गीताको दैनिकी बित्छ । समय र मौसम अनुकूल औषधी खुवाउने, कुखुराको जाँच गर्ने सबै काम उनी आफैंले गर्छिन । कुखुरा व्यवसायको थालनी
सुरुमा उनलाई कुखुरा पालनको सोच थिएन । दक्षिण अमेरिका पुग्दा उनले त्यहाँ कुखुरा पालन व्यवसायबाट राम्रो फाइदा हुन्छ भन्ने थाहा पाईन ।
तीन वर्ष त्यहाँ बस्दा उनले कुखुराको स्याहार गर्ने तरिका, बिरामी हुँदा उपचार गर्ने विधि, रोगका लक्षणलगायत धेरै कुरा सिक्ने अवसर प्राप्त गरिन । र तीन वर्षपछि नेपाल फर्केर आमा बुवासँग सल्लाह गरी पोल्ट्रीफर्म दर्ता गरिन ।
सुरुमा पैसाको व्यवस्थापन गर्न निकै समस्या भएपछि सहयोग गर्न अभिभावकले मानेनन् । तर परिवारलाई आफूले गर्न लागेका कामबारे सबै कुरा बुझाएपछि उनले सहयोग पाईन । परिवारले २० कठ्ठा जमिनलाई बैंंकमा राखेर ऋण उपलब्ध गराईदिए ।

जुनसुकै व्यवसाय सुरु गर्दा पनि आवश्यक ज्ञान, सीप, बजार, कच्चा पर्दाथ आदिको अभाव हुन्छ । त्यस्तै कठिन भयो गीतालाई पनि । विदेशमा सिकेको ज्ञान र सीपले सहयोग गरे पनि कतिपय आवश्यक सामाग्री, उपकरण उपलब्ध नहुँदा गीताले सुरुका दिनमा निकै संघर्ष गर्नुपर्यो ।
कुखुराका चल्लाहरु हुर्काउने बेला कति रात त उनी सुत्न नै पाईनन् । चल्ला नहुर्किंदासम्म कति दिन खाना समेत खान फुर्सद पनि भएन । तर मेहनत गर्दै जाँदा उनी अहिले सफल भएकी छन ।
अण्डाबाट मात्रै महिनाको ६० हजारसम्म कमाईगीताको फर्ममा अहिले ६ हजार कुखुरा बेच्नका लागि तयारी अवस्थामा छन् । तीन हजारले अण्डा पार्छन् भने तीन हजार कुखुरा तयार हुँदैछन । एक दिनमा करिब २६ सय कुखुराले अण्डा पार्छन् । गीताले ग्राहकलाई फर्मबाटै प्रतिअण्डा ८ रुपैंया ५० पैसामा बेच्छिन । यसरी अण्डाबाट मात्रै महिनामा ५० देखि ६० हजारसम्म कमाई हुन्छ, गीताको । त्यसैगरी कुखुरा बेचेर पनि महिनामा ५० हजार भन्दा धेरैको आम्दानी हुन्छ ।
आम्दानी धेरै–थोरै भन्दा पनि आफू आफ्नै व्यवसायबाट सन्तुष्ट भएको गीताले बताउँछिन । उनी भन्छिन ‘कमाई धेरै-थोरै आफ्नो ठाउँमा छ, तर म मेरो कामबाट ज्यादै नै सन्तुष्ट छु, सबैभन्दा आत्मसन्तुष्टी नै ठूलो कुरा हो ।’
स्वदेशमै बसेर केही गर्ने अठोटअझै धेरैवटा फर्म खोलेर ठाउँ-ठाउँमा कुखुराको अण्डा र मासु उत्पादन गरी देशमा मात्रै होइन विदेशमा समेत निर्यात गर्ने उनको सोच छ । एउटा सफल महिला व्यवसायी भएर अरुलाई पनि आत्मनिर्भर बनाउने र पढेर जागिर मात्रै गनुपर्छ भन्ने सोंच हटाउँदै स्वदेशमै बसेर केही गर्ने प्रेरणा दिने मन रहेको उनी बताउँछिन ।
‘पढेलेखेकाले सरकारी जागिर र एनजीओ, आइएनजीओमा मात्रै काम गर्ने प्रवृत्ति हटाउनुपर्छ’ उनले भनिन, ‘काम सानो र ठूलो हुँदैन, तर, सोंच सधै सकारात्मक राखेर अघि बढेमा अवश्य सफल भइन्छ ।’
मधेसी समुदायकी गीतालाई शिक्षा, चेतनासँगै आत्मविश्वासले अघि बढ्न प्रेरित ग¥यो । उनका आमाबुवाले आफ्ना छोराछोरीमा कुनै विभेद गरेनन् । तीन दिदीबहिनी र १ दाजुसँगै लेखपढ गरेर गीता अहिले सफल व्यवसायी बनेकी छन । उनको प्रगति देखेर परिवार र छिमेकी दंग छन् ।

  • ११ श्रावण २०७५, शुक्रबार २०:०९ प्रकाशित
  • Nabintech