हुलाकी सडकले आवतजावतमा सहज
  • काँचुली खबर

२१ भदौ, नेपालगन्ज । अगैया-नेपालगन्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्रे भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो ।

“हामी पहिले कोहलपुर हुँदै नेपालगन्ज जानुपर्ने थियो तर अहिले त्यो परिस्थिति बदलिएको छ”, राप्तीसोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरीले भने ।

अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगञ्ज पुग्न सजिलो भएको उनले बताए । चौधरीले भने, “ग्राभेल सडक हुँदा सवारीसाधन चल्दैनथे तर अहिले पाँच वटा बस सञ्चालनमा छन् ।”

राप्तीसोनारी गाउँपालिकाका ३, ४, ५, ६ लगायतका वडा हुँदै हुलाकी सडक नेपालगञ्जबाट अगैया बजारसँग जोडिएको छ । सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर क्षेत्रका साना बजारसमेत चलायमान भएका छन् ।

वडाध्यक्ष चौधरीले सडकका कारण विकासको मूलप्रवाहीकरण भएकामा खुसी व्यक्त गर्दै वर्षाको समयमा हुने झन्झटको अन्त्य भएको बताए । हुलाकी सडक कालोपत्रे भएपछि अटो, मोटरसाइकल लगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ ।

स्थानीय दिनेश रतगैयाले धुलाम्मे अवस्था सधैँका लागि अन्त्य भएको बताए । उनका अनुसार नेपालगञ्ज-अगैया जोड्न थारुमारेमा पक्की पुल निर्माण भएको छ । एउटा नालामा भने पुल निर्माण हुन बाँकी छ ।

राप्ती नदीमा निर्माणाधीन पुलले अगैया-नेपालगन्ज बाहेक नरैनापुरलाई समेत जोडेको छ । वि.सं. २०७८ मा सुरु भएको उक्त सडक वि.सं. २०८० मा सम्पन्न भएको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले हुलाकी सडकलाई राजमार्गसँग जोडेर कुसुमबाट दाङ जोड्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

  • २१ भाद्र २०८१, शुक्रबार १६:३९ प्रकाशित
  • Nabintech