नेपालगन्जमा ‘डेस्क’ स्थापना गर्दै म्याक्स अस्पताल
  • काँचुली खबर

२१ भदौ, नेपालगन्ज । भारतीय प्रतिष्ठित म्याक्स अस्पतालले नेपालगन्जमा बिहीबार ‘निरन्तर चिकित्सा शिक्षा’ (सिएमई) सम्बन्धि कार्यशाला गरेको छ । केही महिनाअघि उत्तरप्रदेशको राजधानी लखनउस्थित सहारा अस्पतालको पुर्ण स्वामित्व लिइसकेपछि म्याक्सले ‘निरन्तर चिकित्सा शिक्षा’ कार्यक्रमलाई सञ्चालन गरेको हो ।

म्याक्सका एभिपी तथा युनिट हेड प्रमित मिश्राले विश्वस्तरमा भइरहेको चिकित्सा क्षेत्रको ज्ञान, प्रविधि र नवप्रवर्तनका बारेमा अनुभव साटासाट गर्न निरन्तर चिकित्सा शिक्षा कार्यशाला आयोजना गरेको बताए ।

‘हामीले नजिकै ठुलो लगानीमा विश्वस्तरीय अस्पताल सञ्चालनमा ल्याएका छौं, जहाँ सहुलियतमा सुपर स्पेसियलिस्ट सेवा उपलब्ध गराउँदैछौं’ उनले भने ‘आम नेपालीलाई जानकारी गराउन पनि यो कार्यक्रम आयोजना गरिएको हो ।’ नेपाल हेर्ने छुट्टै डेस्क व्यवस्थापन गरेको पनि उनले जानकारी दिए । ‘त्यहाँ नेपाली भाषामै सहजीकरण गरिदिनेदेखि नेपाली रुपैयाँबाट काम चल्नेछ’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको उपस्थितिमा म्याक्स सुपर बिशेषज्ञ अस्पताल लखनउका बरिष्ठ चिकित्सकहरुले आआफ्ना बिषय विज्ञताको प्रस्तुतिकरण दिएका थिए ।

नेपाल मेडिकल एसोसियसन नेपालगन्ज च्याप्टरको सहकार्यमा भएको कार्यशालामा म्याक्सका निर्देशक तथा प्रमुख मेडिकल अनकोलोजिस्ट डा. आलोक गुप्ताले क्यान्सर उपचारमा अत्याधुनिक प्रविधियुक्त सेवासुविधा म्याक्समा रहेकाले यसको लाभ निकटवर्ती सेवाग्राहीले उठाउन सक्ने बताए । उनले आफ्नो प्रस्तुतिमा क्यान्सर जोखिमयुक्त रोग भएपनि पछिल्लो समय त्यसको उपचार सम्भव भएको बताउँदै आफुले निकै चुनौतिपुर्ण रोग निदान गरेको उदाहरण दिएका थिए ।

म्याक्सका अर्का निर्देशक तथा हेड अफ डिपार्टमेन्ट डा. आदित्य के शर्माले रोबोटिक सर्जरीले बिरामीको उपचारमा कसरी रुपान्तरणकारी प्रभाव पारिरहेको छ भन्ने आफ्नो प्रस्तुतिमार्फत देखाए । न्यूरोसर्जरी बिशेषज्ञ डा. मनु रस्तोगीले नयाँ प्रविधिबारे चर्चा गर्दै स्पाइन सर्जरीमा आएका नयाँ परिवर्तनबारे प्रकाश पारेका थिए ।

नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. विनोद थापाले म्याक्सको यो पहल सराहनीय भएको बताए । कार्यक्रममा झण्डै डेढ सय जना चिकित्सकहरुको उपस्थिति थियो । म्याक्स हेल्थ केयर इन्स्टिच्युट भारतको सबैभन्दा ठुलो स्वास्थ्य सेवा प्रदायक संस्थाहरु मध्ये एक हो ।

  • २१ भाद्र २०८१, शुक्रबार १६:२७ प्रकाशित
  • Nabintech