नेपालगञ्ज सुनसान, रुपैडिहामा नेपाली उपभोक्ताको भीड
  • काँचुली खबर

२० भदौ, नेपालगन्ज । बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीज आइसक्दा पनि नेपालगञ्ज बजारमा खासै चहलपहल छैन ।

सीमापारि भारतीय बजार रूपैडिहामा भने किनमेल गर्ने नेपाली उपभोक्ताको भीड लागेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौं संख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् ।

अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैँया र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरूले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन् । नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको स्थानीय व्यापारी सुजित वैश्यले बताए ।

रुपैडिहा बजारमा खाद्यन्न पसल गर्दै आएका वैश्यले नेपाली चाडपर्व तीज दशैं तिहारमा नेपाली उपभोक्ताको भीडभाडले आफूहरूलाई भ्याइनभ्याइ हुने गरेको उल्लेख गरे । यतिबेला तीजपर्वका लागि खाद्यान्नसँगै कपडा पसलमा भीडभाड रहेको उनको भनाइ छ ।

चाडपर्व मात्र होइन अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपैडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

रुपैडिहा बजार नेपाली उपभोक्ताहरूको भरमा टिकेको छ । दैनिक करिब एक करोडको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । दैनिक उपभोग्यका सामान, तरकारीलगायतका वस्तु किन्न सयौं नेपाली सीमा पारि जान्छन् । नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको श्रेष्ठको भनाइ छ ।

नेपाली उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जाने समस्या अहिलेको होइन । नेपाली उपभोक्ता नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचनपछि सेलाउँदै जाने गरेको छ ।

सङ्घका महासचिव भीमबहादुर रानाभाटले सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने चलनले नेपालगञ्जका व्यवसायी धराशायी भएको बताए । सस्तो पाइने लोभमा खाद्यान्नदेखि लत्ता कपडाको किनमेलका लागि पनि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ ।

‘हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौं’ नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव रानाभाटले भने, ‘भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा हट्न सकेको छैन ।’

पछिल्लो एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको छ । तीजको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । बाँकेका ग्रामीण क्षेत्र तथा बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् । रासस

  • २० भाद्र २०८१, बिहीबार १३:२६ प्रकाशित
  • Nabintech