६ बैशाख २०८१, बिहीबार
बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु
  • काँचुली खबर

कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको पठन सिप क्षमतामा सुधार ल्याई उनिहरुको शैक्षिक जग बलियो बनाउने उदेश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु गरिएको छ ।

सोही कार्यक्रमलाई बाँके जिल्लामा समुदाय परिचालनतर्फ सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बाँके युनेस्को क्लबले नै बर्दिया जिल्लामा पनि उक्त कार्यक्रम संचालन गर्ने अवसर पाएको छ ।

नेपाल सरकारले देशका १६ वटा जिल्लामा संचालन गरेको राष्टिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत बर्दिया जिल्लामा सामाजिक तथा समुदाय परिचालन गरेर कार्यक्रमलाई सफल बनाउने जिम्मेवारी बाँके युनेस्को क्लबले पाएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख निलकण्ठ रेग्मीले बताए ।

बर्दिया जिल्लाका ३ सय वटा सामुदायीक विद्यालय र मदरसाहरुमा संचालन गरिएको सो कार्यक्रमले कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको पठन सिपको महत्त्वबारे अभिभावकलाई बुझाउने तथा बालबालिकाको पढाइमा सहयोग गर्न अभिभावकलाई प्रेरित गर्ने प्रमुख रेग्मीले बताए ।

क्लबले पाएको सामाजिक तथा समुदाय परिचालनको कार्यले विद्यार्थीको सिकाइमा समुदाय तथा परिवारको संलग्नता अभिवृद्धि गराउने तथा विद्यालय अन्तर्गतका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघहरुलाई पूर्णरुपले सक्रिय तुल्याउने र अभिभावकलाई विद्यालयमा नियमीत उपस्थित हुने वातावरण सिर्जना गर्ने बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।

आफ्ना वालवालिकाको पढाइ प्रति सचेत तुल्याई पढाइ कार्यमा हर किसिमले सहयोग गर्न उपयुक्त ढङ्ले अभिभावक तथा समुदायलाई उत्प्रेरित गर्ने कार्यमा यस कार्यक्रमले सहयोग गर्ने अध्यक्ष सिद्दिकीले बताए ।

सो कार्यक्रम अन्तर्गत जिल्लामा विभिन्न कार्यक्रम र गतिविधिहरु संचालन गरिने छन् । सोही कार्यक्रम अन्तर्गत जिल्लाका ९५ वटा विद्यालयलाई अधिकतम् जनही २ लाख रुपैयाँको दरले विद्यालय ब्यबस्थापन अनुदान समेत अपलब्ध गराइने भएको छ ।

उक्त अनुदान पाएका सबै विद्यालयमा प्रारम्भिक कक्षा पढाई उपसमिति गठन गरिने छ । शिक्षक अभिभावक संघको अध्यक्षको अध्यक्षतामा गठन गरिने सो उपसमितिले प्रारम्भिक कक्षाको पढाईका लागि विभिन्न प्रकारका गतिविधिहरु संचालन गर्नेछ ।

विद्यालय ब्यबस्थापन अनुदानले प्रारम्भिक कक्षाका बालबालिकाका अभिभावकको सहभागितामा वृद्धि, पढाइ र सिकाइका लागि थप अवसर तथा विद्यालयपछिको समयका लागि पढाइ सामग्रीहरूको निर्माण गर्न र उपलब्ध गराउन अवसरहरू प्रदान गर्नेछ ।

राष्टिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकलाई दौंतरी शिक्षा तालिम, स्थानीयस्तरमा शैक्षिक सामाग्री निर्माण, पढाई उत्सव, अभिभावक शिक्षक सम्मेलन तथा पैरवी तथा चेतनामूलक अभियान लगायतका गतिविधिहरु संचालन गरिने छ ।

  • ११ श्रावण २०७५, शुक्रबार १९:४३ प्रकाशित
  • Nabintech