ऐतिहासिक पदक बिजेता पलेसालाई आज नगर परिक्रमा गराईने
  • काँचुली खबर

१९ भदाै, काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनको सम्मानमा आज नगर परिक्रमा गराइने भएको छ । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन् ।

यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो । ऐतिहासिक पदक विजेता पलोसा आज बिहान काठमाडौं आउँदै छिन् । उनीसहित नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगर परिक्रमासहित स्वागत गर्न लागेको हो ।

राखेपका अनुसार बुधबार बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ । र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि बुधबार स्वदेश फर्किंदै छन् ।

पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २-१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा पलेसाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एकपक्षीय खेलमा ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । क्वार्टरफाइनलमा अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८-१० ले पछि परेकी थिइन् । क्वार्टरफाइनलमा पराजित भएपछि पलेसाले रिपेचज खेल्ने अवसर पाएकी थिइन् ।

लगातार दोस्रो पारालिम्पिक खेलेकी पलेसाले टोकियो पारालिम्पिकको सोही तौलसमूहको रिपेचेजमा पनि मरिजालाई नै हराउँदै कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । काँस्य पदकका लागि भएको भिडन्तमा भने उनी चीनकी लि युजीसँग १२-९ ले चुकेकी थिइन् । पलेसाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् । नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो ।

गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य पदक जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा भएको २४औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धी हासिल गरेका थिए । प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन ।

१० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेसा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन् । सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेसाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यो प्रतियोगितामा उनले पाँचौं स्थान हासिल गरेकी थिइन् ।

२१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन् । त्यसमा तीन स्वर्ण र तीन कांस्य छ । पलेसाले नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोयिगता, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स र चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोटमा स्वर्ण जितेकी थिइन् । ताइयानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेसाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । पारालिम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेसा एक्लो नेपाली खेलाडी हुन् । टोकियो पारालिम्पिकमा भने उनी वाइल्ड कार्डमार्फत सहभागी भएकी थिइन् ।

यसैगरी सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा पलेसाले जितेको कांस्य नेपालले पाएको अहिलेसम्मकै एक मात्र पदक हो ।

  • १९ भाद्र २०८१, बुधबार ०७:५७ प्रकाशित
  • Nabintech