नेपालसहित ३५ मुलुकका पर्यटककालागी श्रीलंकाको भिसा फ्री
  • काँचुली खबर

१७ भदौ, काठमाण्डौं । श्रीलंकाले आगामी असोज १५ (अक्टोबर १) देखि नेपालसहित ३६ मुलुकलाई पर्यटन भिसा शुल्क नि:शुल्क गरिदिएको छ । श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नाण्डोले केही दिनअघि मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै पर्यटकको भिसा शुल्क नलाग्ने निर्णय सुनाएका थिए ।

सन् २०२४ मा २३ लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्नका लागि नि:शुल्क भिसाको रणनीति ल्याएको हो । श्रीलंकामा सन् २०२४ को जुलाइसम्ममा १३ लाख पर्यटकले भ्रमण गरिसकेका छन् । श्रीलंका पर्यटन विभाग प्राधिकरणका अनुसार पछिल्लो समय श्रीलंकामा मासिक डेढ लाख हाराहारीमा पर्यटक भित्रिएका छन् ।

दुई वर्षअघि आर्थिक रूपमा श्रीलंका टाट पल्टियो । त्यसअघि सन् २०१८ को तथ्यांक हेर्ने हो भने एकै वर्ष २३ लाख ३३ हजार ६९६ पर्यटक भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२३ मा श्रीलंका भ्रमणका लागि जाने पर्यटकको संख्या घटेर १४ लाख ८७ हजारमा झर्‍यो ।

पर्यटनलाई आर्थिक विकासको बलियो खम्बा बनाएर अघि बढ्नका लागि अहिले श्रीलंकाले ३५ मुलुकका पर्यटनलाई भिसा नि:शुल्क गरिदिएको हो । यतिबेला पर्यटन क्षेत्र सुधारसँगै पर्यटक आकर्षणका लागि विभिन्न प्याकेजसँगै श्रीलंकाको रिब्रान्डिङमा लागेको छ ।

श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्सले ४५ वर्षदेखि ५९ राष्ट्रका ११३ गन्तव्यहरूमा सीधा तथा नेटवर्किङ उडान गर्दै आइरहेको छ ।

देशको एकमात्र व्यावसायिक उड्डयन कम्पनी भएको श्रीलंकन एयरलाइन्सले विगत ३ वर्षदेखि काठमाडौं-कोलम्बो सीधा उडान गर्दै आइरहेको छ ।

एयरलाइन्सले हाल आइतबारदेखि शुक्रबारसम्म साताको पाँच उडान गरिरहेको छ ।

नेपालका लागि कन्ट्री म्यानेजर निलिना पाथिरनाले नेपाली पर्यटकका लागि श्रीलंका नजिकको र सस्तो गन्तव्य हुने बताए । उनका अनुसार यात्रुको माग आएमा उडान संख्या पनि बढाउने एयरलाइन्सको तयारी छ ।

‘नेपालीहरूको खर्च गर्ने क्षमता बढिरहेको छ। भ्रमणका लागि माल्दिभ्स, मलेसिया, थाइल्यान्ड, दुबई, इन्डोनेसिया गइरहेका छन् । श्रीलंका पनि उपयुक्त गन्तव्य हुन सक्छ’ पाथिरना भन्छन्, ‘करिब ३५ प्रतिशतसम्म कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने पर्यटन क्षेत्रले अहिले करिब ५ प्रतिशत योगदान दिँदै आएको छ ।’

अहिले काठमाडौं कोलम्बो गन्तव्यमा यात्रु अकुपेन्सी पनि बढेको नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका म्यानेजर दीपक मैनालीले सेतोपाटीलाई बताए ।

उनका अनुसार हाल काठमाडौं-कोलम्बोमा ९५ प्रतिशत अकुपेन्सी छ । त्यस्तै कोलम्बो-काठमाडौंका लागि ६० प्रतिशत हाराहारीमा अकुपेन्सी रहेको उनले बताए ।

‘चाडपर्व सुरू हुन लागेसँगै नेपाल फर्कने यात्रु अकुपेन्सी शत प्रतिशत नै छ’ उनले भने, ‘त्यस्तै अनराइभल भिसाले गर्दा अक्टोबरदेखिको बुकिङ पनि राम्रो छ । छिट्टै उडान संख्या थप्ने तयारीमा छौं ।’

उनकाअनुसार श्रीलंका, ७० प्रतिशतभन्दा बढी बौद्धमार्गी जनसंख्या भएको देश हो । त्यस्तै दोस्रो स्थानमा हिन्दु धर्मावलम्बीको बाहुल्यता छ । श्रीलंकन नागरिकलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनी र पशुपतिनाथ दर्शनमा आकर्षित गर्न श्रीलंका सरकार आफैं प्रवर्द्धनको काम गरिरहेको मैनाली बताउँछन् । त्यस्तै नेपालीहरू लंकाको दरबार, समुन्द्र र टेम्पल अफ टुथ लगायतका स्थानहरू घुम्नका लागि पुग्ने गरेका छन् ।

  • १७ भाद्र २०८१, सोमबार १६:३३ प्रकाशित
  • Nabintech