१७ भदौ, पोखरा । गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन् ।
‘मैले राजीनामा स्वकीय सचिव सन्तोष अधिकारीसँग पठाइसके, अब सरकारमा नजाने, अल्छी लाग्यो,’ उनले भने, कति खाने के, रेष्ट गर्नुपर्छ अब ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय पाएका थिए ।
वन तथा वातावरण मन्त्रालय पाएपछि असन्तुष्ट बनेर मनाङेले राजीनामा दिएका हुन् । मनाङेका स्वकीय सचिव अधिकारीले पनि मन्त्री पदबाट मनाङेले राजीनामा दिएको बताए ।
‘राजीनामा पत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीको समय कुरेर बसेको छु,’ उनले भने ।
मनाङेले वन तथा वातावरण मन्त्रालय मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजंग गुरूङलाई दिन पनि माग गरेको बताए ।
‘तल्लो मनाङको भाइ मुनिन्द्रजंग गुरुङलाई मन्त्री देउ भनेको छु,’ उनले भने, ‘नयाँ केटाहरुलाई अनुभव हुन्छ ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मनाङेले सरकार पुनर्गठन हुँदा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय माग गरेका थिए । तर उक्त मन्त्रालय कांग्रेस सांसद विन्दुकुमार थापाले पाए ।
त्यसपछि नै मनाङे असन्तुष्ट बनेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मनाङेले भने पहिला आफूले उक्त मन्त्रालय दाबी गरे पनि अब सबै मिलेर चलाउनुपर्ने बताए ।
वन मन्त्रालयमा बजेट नहुने र आफुले चलाउन नपाउने उनले बताए । ‘वनमा बजेट छैन । मन्त्रालय हामीले हेर्न पनि पाउँदैन । यो त केन्द्रले हेर्ने हो,’ उनले भने, ‘हामीले हेर्ने भनेको तितेपातीको झ्याङ हो । झण्डा हल्लाएर हिडेर काम छैन ।’
१७ भाद्र २०८१, सोमबार १६:०० प्रकाशित