कविता : मेरा बा !
  • राम बहादुर रावत

सानोमा बा’को शरीर ठूलो लाग्थ्यो
अहिले बा’को शरीर विशाल लाग्छ

सानोमा बा’को बुद्धि धेरै छ जस्तो लाग्थ्यो
अहिले बा’को बुद्धि विशाल छ जस्तो लाग्छ

बा नभएको भए म हुने थिएन
म नभएको भए बा हुन्थेकी खै ?

बा’को गोजि संधै पूरा छ जस्तो लाग्थ्यो
मेरो गोजि संधै खाली छ जस्तो लाग्छ

बा’को दारीसँग लुकामारी खेलेको दिन
खुब रमाइन्थ्यो
अहिले बा’को दारी थाके छ्न कि
लुकामारी पाइदैन खेल्न

बा’ले बाटो देखाउन
बाटोमै लिएर पिटेका थिए
अहिले बाटो सडक भयो
बा’का हातले साथ छोडे

बासँग एउटा गुनासो छ
बासँग एउटा माग छ
बासँग एउटा अनुरोध छ
बासँग अंश बाँकी छ
बासँग खाली गोजि छ
बासँग अधुरो सपना छ
बासँग अधुरो गन्तव्य छ
बासँग पुरानो घर छ
बासँग सानो संसार छ
तर
बासँग म छैन
बासँग मेरो सपना छैन
बासँग मेरो गन्तव्य छैन
बासँग मेरो मन छैन
बासँग बस्ने मेरो घर छैन
बासँग मेरो आधुनिकता छैन
बासँग पिजा बर्गर खाने दाँत छैन
बासँग उर्जा छैन
बासँग जवानी छैन

हो बासँग केही छैन
जिम्मेवारीको भारी बोक्दा बोक्दै
गन्तव्यको यात्रा खोज्दा खोज्दै
हाम्रो भविष्य बनाउँदा बनाउँदै
मेरा बाको जवानी नै नआई
बुढेसकाल लागेछ

बा थाके, हार मानेन्न
बा, गले तर गन्तव्य बिर्सेन्न
बा, रोए तर आँसु देखाएन्न
बा, हाँसे तर मुस्कान देखाएन्न
बा, खुसी भए तर उफ्रिएनन्
बा, मेरा बा बने
बा, मेरा पाउ बने
बा, मेरा पाखुरा बने
बा, मेरा आँखा बने
बा, मेरा सपनाका भारि बने
बा, मेरा ‘बा’ बने

मेरा ‘बा’ अब म कसैको ‘बा’ बनेकोमा
आफू ‘बा’ बनेकोमा गर्ब गर्छन
बस म मेरा ‘बा’ जस्तै ‘बा’ बन्न पाउ
बा, तपाईलाई बुवाको मुख हेर्ने दिनको
धेरै धेरै शुभकामना ।।

– राम बहादुर रावत

  • १७ भाद्र २०८१, सोमबार १३:१७ प्रकाशित
  • Nabintech