पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा नेपालगन्ज रंगशालाकाे निरिक्षण
  • काँचुली खबर

१६ भदाै, नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान नेपालगन्ज रङ्गशालाको अवलोकन/निरिक्षण गरेका छन । अवलोकनका क्रममा उनले नेपालगन्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए ।

हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रङ्गशालाको अवलोकन गरेका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताए । “माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगन्ज रङ्गशालाको पूर्वाधार निर्माणले गति लिएको हो ।“ उनले भने, “त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।”

यसैवर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगन्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगन्ज रङ्गशालाको उपयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गरे ।

उनले दशौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गरेका छन । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उनकाे भनाई  थियाे ।

सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए । अध्यक्ष प्रचण्डसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतले रंगशालाकाे अवलाेकन गरेका थिए ।

आइतबार र सोमबार नेपालगन्जमा हुन लागेको पार्टीको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठकलाई सम्बोधन गर्न प्रचण्ड शनिबार बेलुका सुर्खेतबाट नेपालगन्ज आएका हुन ।

  • १६ भाद्र २०८१, आईतवार १०:३० प्रकाशित
  • Nabintech