दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड
  • काँचुली खबर

१५ भदौ, सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले यस्तो धारणा राखेका हुन ।

आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताएका हुन । ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’ उनले भने ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।’

उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिव करिव सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो’ उनले भने, ‘माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री बिमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ ।’

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी पनि उनले गरे । आफू तीन पटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिंदै आएको पनि उनकाे भनाई थियाे ।

अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुदमन्त्री बिमला केसी, कर्णाली खेलकुद परिषदका सदस्य-सचिव विश्वामित्र सञ्ज्याल लगायतका खेल पदाधिकारीको उपस्थिति रहेको थियो।

यसैबीच अध्यक्ष प्रचण्डले पेरिस पारा-ओलम्पिकमा ऐतिहासिक कास्य पदक जित्ने पलेशा गोबर्धन लगायत खेल पदाधिकारीलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन । यो ऐतिहासिक जीत नेपालको गौरवको विषय भएको उनले बताए ।

  • १५ भाद्र २०८१, शनिबार १०:२० प्रकाशित
  • Nabintech