१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् ।
कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।
नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।
त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।
पलेशाले शुक्रबार भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भइन् । फर्नान्डेज विरुद्ध सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा जोगाउन नसक्दा पलेशा पराजित भएकी हुन् ।
पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन् । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भइन् ।
लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
पलेशाले टोकियो ओलम्पिक २०२० मा पनि खेलेकी थिइन् । जहाँ उनले दुई बाउट जित्दै इतिहास रचेकी थिइन् । तर कांस्य पदकको भिडन्तमा चिनियाँ खेलाडीसँग पराजित हुँदा पदक नजिक पुगेर पनि वञ्चित भएकी थिइन् ।
यस्तै चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पेलाशाले नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।
पलेशाले २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक-२०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । त्यसबेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०-० तथा सर्बियाकी मारिजा मिसेभलाई २३-१५ ले हराउदै चीनकी युजी लिसंग कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । कांस्य पदक भिडन्तमा पलेशा १२-९ ले चुकेपछि पाँचौं भएकी थिइन् । पलेशाले सन् २०१८ मा काठमाडौं भएको दोश्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।
१५ भाद्र २०८१, शनिबार ०८:५० प्रकाशित