कलेजोमा संक्रमण गराउने हेपाटाइटिस के हो ?
  • डा. विवेक शर्मा

प्रत्येक वर्ष नेपाल सहित विश्वभर ‘विश्व हेपाटाइटिस दिवस’मनाउने गरिन्छ । Its time for action अर्थात् ‘यो कार्यको लागि समय हो’ भन्ने नाराका साथ विश्वभर सन् २०२४ मा उक्त दिवस मनाइंदैछ। हेपाटाइटिस कलेजोको संक्रमण हो । यो रोग विभिन्न किसिमका भाइरस ले हुने गर्दछ । मुख्य ५ प्रकारका हेपाटाइटिस भाइरस हुन्छन । रोगको सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरल हेपाटाइटिस ए, बी, सी, डी र ई लाई दुई समूहमा बाँड्न सकिन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’ पानी र दुषित खानाबाट सर्छ । जुन विकसितभन्दा अविकसित मुलुकमा धेरै मात्रामा हुन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’को क्षणिक असर हुन्छ । हेपाटाइटिस ‘बी’ र ’सी’ रगत र रगतको अन्य माध्यम तथा असुरक्षित यौन सम्पर्कबाट सर्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’ ले दिर्घकालिन कलेजो को रोग, कलेजोको क्यान्सर पनि गराउन सक्छ ।

हेपाटाइटिस ‘ए’ र ‘ई’ भएको छ भने सामान्य रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । त्यसको एक हप्तापछि कमलपित्त हुने, पिसाब पहेंलो हुने, आँखा पहेंलो हुन्छ भने जिउ चिलाउने हुन्छ । बालबालिका तथा गर्भवती महिलाहरुमा समेत यो देखिन सक्छ । यो आफै निको हुँदै जान्छ। हेपाटाइटिस ‘बी’ र ‘सी’ मा अधिकांश मान्छेमा पहिला लक्षण हुँदैन । जण्डिस हुँदै गएपछि जिउ गल्ने र कलेजो बिग्रन समेत सक्छ । दिर्घकालिन कलेजो रोगमा पेटमा पानि, रगत बान्ता, बेहोस हुने आदि हुन्छ । केहि बिरामीलाई अस्पतालमा समेत भर्ना गर्नुपर्ने हुन्छ ।

दिर्घकालिन हेपाटाइटिस ‘बी’ निर्मुल हुदैन तर औषधिको सेवनले नियन्त्रणमा राख्न सकिन्छ । त्यस्तै दिर्घकालिन हेपाटाइटिस सी’ औषधिको प्रयोग गरेर निर्मुल गर्न सकिन्छ । हेपाटाइटिस भएका बिरामीलाई स्वस्थ खाना, स्वच्छ, पौष्टिक, सन्तुलित आहार बिहार गर्नु पर्दछ । कुनैपनि खानेकुरा बार्नु जरुरि पर्दैन तर धेरै भुटेको, तारेको, मद्यपान, धुम्रपान गर्नु हुदैन । बिज्ञ चिकित्सकको परामर्श बिना औषधि सेवन गर्न हुदैन । हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । सन् २०३० सम्ममा हेपाटाइटिस उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।

हेपाटाइटिस ए र बि खोपबाट नियन्त्रण गर्न सकिन्छ । स्थानीय निकाय, सरोकारवाला, प्रतिनिधि, तथा सरकारको बिचमा आवस्यक समन्वय तथा समुदाय स्तरमा हेपाटाइटिस रोगको सचेतना, पहिचान र भ्याक्सिन उपलब्ध गराउन सकिएको खण्डमा संक्रमण रोक्न मद्दत पुग्नेछ । साथै संक्रमण फैलन नदिन कन्ट्रयाक ट्रेसिङको माध्यम बाट संक्रमणको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाएर उनीहरु भित्रैबाट सम्भावित स्रोत र कारण पत्ता लगाउन सकिएमा थप प्रभावकारी हुनेछ ।

सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाए जस्तै हेपाटाइटिस बी को सबै नेपालीलाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ । जस्ले राष्ट्रको जनधनको ठूलो क्षति हुनबाट बचाउँछ । अर्को तर्फ हेपाटाइटिस ए र इ को महामारीबाट बच्न सबै घर घरमा चर्पीको व्यवस्था, गाउँ शहरमा जताततै ढल निकासी, राम्रो र शुद्ध खानेपानीको व्यवस्था गर्न जरुरी देखिन्छ ।

(डा. शर्मा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका सिनियर कन्सल्टेन्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट हुनुहुन्छ ।)

  • १४ भाद्र २०८१, शुक्रबार १७:१५ प्रकाशित
  • Nabintech