प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म सुपर फ्लप
  • काँचुली खबर

१४ भदौ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्रले दुई करोड लगानी डुबाएको हो ।

अभिनेता रंमित ढुंगानाले निर्देशन गरेको यस चलचित्रको प्रचार-प्रसारका लागि कुनै कसर बाँकी राखिएको थिएन । गत शुक्रबार प्रदर्शनमा आएदेखि हलमा दर्शकको संख्या शून्य हुँदै गएको छ ।

सामान्यताया : एउटा चलचित्र चल्नु वा फ्लप हुनुमा धेरै कुराले फरक पार्छ । चलचित्रले पाउने दैनिक शो संख्या र प्राइम टाइम, चलचित्र वितरक, चलचित्रको कथा, कलाकार आदी-आदी । यी सबै कुराहरु मिलेर चलचित्रले प्रदर्शनको मितिदेखि एक दुई दिनसम्म दर्शकलाई हलसम्म तान्न सक्यो भने बल्ल ‘वर्ड अफ माउथ’ले ठाउँ पाउँछ । चलचित्रको कन्टेन राम्रो भयो भने हप्तौंसम्म चल्छ, राम्रो भएन भने दुई तीन दिनमै पर्दाबाट उत्रिन्छ ।

तर ‘नमेटिने घाउ’ले भने ‘वर्ड अफ माउथ’को लागि समेत दर्शक पाउन सकेन । प्रदर्शनको आज चौथो दिनमा आइपुग्दा हलमा चलचित्र हेरेर प्रतिक्रिया दिने दर्शकको अभाव देखिएको छ ।

चलचित्र डुबेपछि यतिबेला निर्मातासमेत रहेका निर्देशक ढुंगाना तनावमा छन् । चलचित्र बनाउँदा लगानी गरेको दुई करोड स्वाहा भएको उनले स्वीकारेका छन् । ‘नराम्ररी डुबे नि, के गर्नु, लगानी सबै स्वाहा भयो, आश गर्ने ठाउँ छैन,’ उनले भने, ‘म चकित पर्या छु, के भा हो, भा हो ।’

रमितले चलचित्र निर्माण गर्दा कथा र छायाङ्कनमा गरेको मिहेनत पनि सबै खरानी भएको जिकिर गरे । ‘१२५ जनालाई ५५ दिन विभिन्न जिल्ला पुर्याएर खिच्या थिएँ, मेरो त क्यामेरा नै अरुको भन्दा ठूलावाला । लाइट मात्रै २२ लाखको हो । दुई करोड हारहारी हो, सबै मेहनत खरानी भयो’, उनले थपे ।

‘सामाजिक सञ्जालमा त राम्रै चर्चा भएको थियो, हलमा किन दर्शक गएनन् होला ?’ भन्ने जनआस्थाको प्रश्नमा रमिले जवाफ दिए, ‘पोलिटिक्स नि सर । म राजनीति गर्ने मान्छे होइन । एसिड आक्रमणका परेका पीडितहरुसँग छलफल गर्दा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र यी यी सांसदहरुले अध्यादेश ल्याएर हामीलाई सहयोग गरेका हुन् भन्ने भयो । मैले पनि कथाको माग अनुसार उहाँलाई फिल्मको लागि प्रस्ताव गरे । तर अहिले पूरै बाइकट (बहिष्कार) गरियो ।’

‘यसलाई बाइकट नै भन्न मिल्छ र ?’ भन्ने प्रतिप्रश्नमा उनले थपे, ‘यो पक्का बाइकट हो नि । पहिलो कुरा त जनतामा नेताहरु प्रति निकै वितृष्ण देखियो । नेता र राजनीति भन्न बित्तिकै जनतालाई इरिटेड लाग्दो रहेछ, अचेल । दोश्रो, यहाँ अनेकौ पार्टी छन् । एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीको नेतालाई बहिष्कार गर्ने नै भए । कतिसम्म भने मेरै घरको भतिजको मोबाइलमा ओलीको फिल्म बहिष्कार गर्नुपर्छ है भन्ने मेसेज आएको देखेँ । पूरै साइबर सेनाहरुले मेसेज फैलाउदा रहेछन् । यो त पक्का बाइकट हो सर । म त्यही बहिष्कारको शिकार भए । तनाव भाको छ । सोच्दै नसोच्या भयो, यो त ।’

रमितले हलमा दर्शकको संख्या देखेर चलचित्रमा अभिनय गरेका प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहित सांसद पौडेल र शाहीलाई फिल्म हेर्न निमन्त्रणा दिने जाँगर समेत नचलेको बताए । भने, ‘अहिलेसम्म खबर गर्या छैन सर, जाँगर नि चल्या छैन ।’

चलचित्र सामाजिक कथावस्तुमा केन्द्रित भएपनि दर्शकमा राजनीतिक विषयवस्तु हो कि भन्ने भ्रम सिर्जना भएको रमितको अनुमान छ ।

  • १४ भाद्र २०८१, शुक्रबार १२:५६ प्रकाशित
  • Nabintech