गनापुर दुर्घटनाका मृतकको पहिचान खुल्यो, घाईतेको उपचार हुँदै
  • काँचुली खबर

१३ भदौ, कोहलपुर । बिहिबार बिहान कोहलपुर-नेपालगन्जमा भएको सवारी दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।

दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । भुसाल बसका सहचालक हुन्। दुवै जनाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको डाँगीले बताए ।

डिएसपी डाँगीका अनुसार दुर्घटनामा २७ जना घाइते भएका छन् । उनीहरूमध्ये भेरी अस्पतालमा ५ जना र नेपालगन्ज मेडिकल कलेजमा थप घाइतेको उपचार भइरहेको छ । घाइृतमध्य एक जना डिस्चार्ज भइसकेका छन्।

दाङबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर-नेपालगन्ज सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका-६ कोठारपुर (गनापुर) मा अनियन्त्रित भई बिहीबार बिहान सवा ११ बजे दुर्घटना भएको थियो ।

डिएसपी डाँगीका अनुसार तीब्र गतिको बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस सडक खण्डमै पल्टिएको थियो । चालक प्रहरीको नियन्त्रणमा छन्।

  • १३ भाद्र २०८१, बिहीबार १५:२७ प्रकाशित
  • Nabintech