बाँकेबाट १ करोड बढि मुल्य बराबरको अवैध सुनचाँदी बरामद
  • काँचुली खबर

११ भदौ, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट १ करोड बढि मुल्य बराबरको अबैध सुनचाँदी बरामद गरेको जनाएको छ । नेपालगञ्जका बिभिन्न स्थानबाट एक करोड पाँच लाख ३३ हजार ४४७ मुल्य बराबरको ४०७ ग्राम सुन, १० किलो ६१३ ग्राम चाँदी र दुई वटा गाडी बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार एक विज्ञप्ती जारी गर्दै घटनाको जानकारी दिएको हो । प्रहरीका अनुसार नेपालगन्जको बीपी चोकबाट बर्दिया राजापुरका ४० वर्षिय नेपाली थारुले चलाएको प्रदेश ०३०१-०२४ च ६७६३ नम्बरको कारमा सवार राजापुर नगरपालीका ४ का ४२ वर्षिय निम प्रकाश सुनारको साथबाट सुन जस्तो देखिने ६७ ग्राम धातुको टुक्रा बरामद गरीएको हो ।

त्यसैगरी नेपालगंज उप-महानगरपालिका वडा नं. ११ बस्ने २१ वर्षिय राहुल सोनारको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम तौल रहेको पायल तथा तार समेत बरामद गरीएको प्रहरीले जनाएको छ ।

उनिहरुको बयानको आधारमा नेपालगंज उप महानगरपालिका वडा नं. २ मा महेश मुराउले संचालन गरेको पशुपती सुनचाँदी रिफाईन कारखानामा खान तलासी गर्ने क्रममा उक्त कारखानाबाट सुन जस्तो देखिने ३४० ग्राम तौल रहेको धातु र चाँदी जस्तो देखिने १० के.जी. ४४१ ग्राम तौल रहेको धातु बरामद गरीएको प्रहरीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । त्यसक्रममा प्रहरीले उक्त कारखानामा रहेका राप्तीसोनारी गाँउपालिका ४ का २४ वर्षिय ओम जंग चौधरीलाई समेत नियन्त्रणमा लिएको थियो ।

बरामद भएका सुन चाँदी, सवारी साधन सहित नियन्त्रणमा लिएका ब्यक्तीहरुलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।

  • ११ भाद्र २०८१, मंगलवार १६:१३ प्रकाशित
  • Nabintech