फणीन्द्र र मनाङेमा अड्किएको गण्डकी सरकार
  • काँचुली खबर

१० भदौ, पोखरा । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस-एमाले सरकार बनेको साढे एक महिना बित्यो । तर, नेपाली कांग्रेसको नेतृत्व रहेको गण्डकी प्रदेशमा भने हालसम्म नेकपा एमाले सरकारमा गएको छैन । दुई पार्टीबीच पटकपटक वार्ता र संवाद भएपनि दुवैले आ-आफ्नो अडान नछोड्दा एमाले सरकारमा जानेरनजाने अझै अनिश्चित छ ।

दुई दलको कार्यदल बनाएर वार्ता गर्नेदेखि संसदीय दलका नेताबीच छलफल भए पनि टुंगिएको छैन । एमाले नयाँ गठबन्धनलाई मात्र समेट्न चाहन्छ भने कांग्रेस सरकारमा रहेको दल तथा मन्त्रीलाई सँगै लिएर जाने पक्षमा छ ।

अहिले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र राजीव गुरुङ ९दीपक मनाङे० सरकारमा छन् । उनीहरूलाई हटाउन मुख्यमन्त्री अनिच्छुक छन् । तर, एमाले भने उनीहरुलाई हटाउने अथवा कांग्रेस कोटाबाट मन्त्री बनाउनुपर्ने अडानमा छ ।

यस्तै मन्त्रालयको विषयमा पनि एमाले र कांग्रेसबीच सहमति जुट्न सकेको छैन । हाल गण्डकीमा ७ मन्त्रालय छन् । यसमा एमाले ९ पुर्‍याएर ४ आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । भने कांग्रेस १० पुर्‍याएपछि मात्रै एमालेलाई ४ दिने पक्षमा देखिन्छ । एमाले सरकारमा कहिले जाने भन्ने विषयमा मुख्यमन्त्रीमा भर पर्ने एमालेका एक सांसदले बताए ।

‘हाम्रो अडान मन्त्रालय नबढाउने भन्ने नै हो । सहमति नै नभएपछि ९ सम्म बनाउनसम्म हामी लचक भएका हौं । त्यसमा हामीले ४ मन्त्रालय मागेका छौं । सहमति भइसकेको छैन । सरकारमा कहिले जाने भन्ने कुरा मुख्यमन्त्रीज्यूमा भर पर्छ,’ ती सांसदले भने ।

प्रदेशमा एमालेसँग सहमति हुन नसकेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भदौ ८ गते काठमाडौं पुगेका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रदेशको बारेमा ब्रिफिङ गरे । भेटमा मुख्यमन्त्री पाण्डेले केन्द्रबाट एक हप्ताभित्र टुंगो लगाइदिने आश्वासन पाए ।

‘प्रदेशमा टुंगो नलागेपछि मुख्यमन्त्रीज्यू काठमाडौं गएर पार्टी सभापति र प्रधानमन्त्रीज्यूलाई यहाँको अवस्थाबारे जानकारी गराउनुभएको छ । केन्द्रबाट एक हप्ताभित्र टुंगो लगाउने भन्ने कुरा छ । केन्द्रबाट टुंगो लागेपछि सरकार पुनर्गठन हुन्छ,’ मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले भने ।

एमाले सांसदहरू पनि केन्द्रबाट टुंगो लगाउने पक्षमा छन् । केन्द्रको निर्देशन आएको खण्डमा सहज हुने एमाले सांसद बताउँछन् ।

उनी भन्छन्, ‘हामीले हाम्रो कुरा राखेका छौं । अब मुख्यमन्त्रीज्यूको हातमा छ । उहाँले केन्द्रका नेतालाई मनाएर १० मन्त्रालय बनाउनुहुन्छ भने हामीले नमान्ने कुरा हुँदैन ।’

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले अहिलेसम्म सहमति भइनसकेको र छिट्टै सहमति हुने दाबी गरे ।

‘अन्तिम सहमतिमा त पुगिसकेका छैनौं । सहमति नजिक छौं । हाम्रो अडान ९ मन्त्रालयसम्म हो । त्यसैमा टुंगिएला नि,’ उनले भने ।

  • १० भाद्र २०८१, सोमबार १४:४७ प्रकाशित
  • Nabintech