लुम्बिनीको वन मन्त्रालयले गर्यो एकैपटक १ सय २४ जना कर्मचारीको सरुवा
  • काँचुली खबर

८ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गरेका हुन् ।

दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेको छ । तर त्यसको त्यसको कार्यान्वयन कुनै पनि मन्त्रालयले गरेका थिएनन् । प्रदेश सरकारले हरेक वर्ष भदौं ७ गतेसम्म कर्मचारी सुरुवा गर्नुपर्ने नीति बनाएको छ । त्यही नीतिलाई पालना गर्दै मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्ष भन्दा धेरै कार्यरत कर्मचारीहरुको सरुवा गरेका हुन । मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई बर्ष भन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरुको सरुवा भएको छ ।

लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरु सरुवामा परेका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुर्मीले नीतिगत रुपमै निर्णय गरिएको बताए ।

उनले भने, ‘एकै स्थान र जिल्लामा बसेर काम गर्दा कामको प्रभावकारिता पनि घटेर जान्छ । कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्याहरु पनि सृजना भैरहेको हुन्छ । गुनासोका आधारमा हामीले यो निर्णय गरेका हौं । कर्मचारीको कामको मुल्यांकन गर्नको लागि नियमित सरुवा आवश्यक छ ।’

अब दोस्रो चरणमा वनरक्षक तहसम्म यस प्रकारको सरुवा गर्ने योजना रहेको उनले बताए । गत बर्षपनि मन्त्रालयले ७ वर्ष बढी अबधी काम गरेका अधिकृतहरु सरुवा गरेको थियो ।

मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन गरेको यो निर्णय मन्त्रालयस्तरबाट भएको पहिलो निर्णय हो । हालसम्म दुई वर्षे हद कुनै मन्त्रालयले मातहतका अधिकृतलाई लगाउन सकेको छैन । सरुवाका लागि ऐनमा उक्त कुरा समावेश भएपनि कार्यान्वयन भने यो नै पहिलो देखिन्छ ।

  • ८ भाद्र २०८१, शनिबार १८:०० प्रकाशित
  • Nabintech