ओली सरकारका चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी
  • काँचुली खबर

६ भदौ, काठमाण्डौं । सर्वोच्च अदालतमा रिट हालेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफल वर्तमान सरकारका चार मन्त्रीलाई कारबाही गराउन कस्सिएका छन् ।

उनले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जामन्त्री दिपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन् । चारै जना आर्थिक अनियमिततामा मुछिएको दाबी गर्दै राजनीतिक पहुँचका आधारमा उनीहरुलाई मन्त्री बनाइएकाले तत्काल छानविन गर्न उजुरकर्ताको माग छ ।

उजुरीमा उपप्रधानमन्त्री पौडेलको आर्थिक हैसियतमाथि प्रश्न उठाइएको छ । सरकारी सम्पत्तिको दुरुपयोग गरेर उनले व्यक्तिगत सम्पत्ति जोडेको युवराजले दाबी गरेका छन् ।

ललिता निवासको सरकारी जग्गा खरिद प्रकरण र नक्कली सुकुम्बासी बनेर रुपन्देहीको देवीनगरमा सार्वजनिक जग्गा हत्याएको विषयमा पौडेलमाथि छानबिन हुनुपर्ने उजुरीपत्रमा उल्लेख छ । पौडेलका छोरा नविनले पनि नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हड्पेको जिकिर गरिएको छ ।

सी-०११२२८ दर्ता नम्बर रहेको उजुरीमा भनिएको छ, ‘रुपन्देहीको रामपुर र भुताहामा आफ्नो नाममा जग्गा जमिन हुँदाहुँदै बुटवलको सुकुम्बासी बस्ती देवीनगरमा बसाईसरी गएको र त्यही पौडेलका छोरा नवीन पौडेलले सुकुम्बासी समस्या समाधान आयोगबाट नक्कली सुकुम्बासी बनि सरकारी सार्वजनिक जग्गाको पुर्जा लिएको देखिन्छ । अतः आफ्नो जग्गा जमिन हुँदाहुँदै राज्यको निकायलाई शक्ति र पहुँच लगाई नक्कली सुकुम्बासी बनि जग्गा जमिन हडप्नु पनि भ्रष्टाचारजन्य कार्य हो ।’

त्यस्तै, पौडेलले नक्कली सुकुम्बासी बनेर प्राप्त जग्गा बेचेर कलंकीमा घर बनाएको युवराजको दाबी छ ।

परराष्ट्रमन्त्री देउवामाथि भने नक्कली भुटानी शरणार्थी र टिकापुरको जग्गा घोटाला प्रकरणमा छानबिन हुनुपर्ने माग गरिएको छ । उनलाई तत्काल पक्राउ गरी छानबिन अगाडि बढाउन युवराजले अख्तियारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल स्काउटको सरकारी जग्गा हिनामिना एवं दुरुपयोगमा मुछिएका ऊर्जामन्त्री खड्काले विगत १५ वर्षदेखि सार्वजनिक जग्गा मिचेको दाबी गर्दै उजुरीमा उक्त अनियमिततामाथि अनुसन्धान गर्न माग गरिएको छ । त्यसैगरी ऊर्जासँग सम्बद्ध निकायको सञ्चालक बनेर खड्काले स्वार्थ लिएको युवराजको आरोप छ ।

उजुरीपत्रमा श्रममन्त्री भण्डारीले म्यानपावरहरुबाट लाभ लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्कामा पार्न खोजेको दाबी गरिएको छ ।

विवादित व्यक्तिहरु सरकारमा हुँदा आम जनमानसको सरकारप्रति विश्वास गिरेको र राष्ट्रको छविमा दाग लागेको युवराजले बताएका छन् ।

उजुरीमा भनिएको छ, ‘राजनीतिक शक्ति, सत्ता र पैसाको आडमा मुछिएका व्यक्तिहरु उम्किने एवम् कारबाहीको दायरामा समेत नआउने गरेको देखिन्छ । यसरी भ्रष्टाचारमा संलग्न भिभिआइपी आरोपितमाथि कुनै छानबिन नगर्दा र नहुँदा राजनीतिक शक्तिको आडमा करोडौं, अर्बौं भ्रष्टाचार गर्नेहरुको बोलबाला हुँदै गएको छ । तसर्थ, विवादास्पद मन्त्रीहरुको बारेमा विस्तृत रुपमा छानबिन गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

  • ६ भाद्र २०८१, बिहीबार १५:३६ प्रकाशित
  • Nabintech